Aamsanchar

नेत्रहीन संघ झापालाई वीरता लेडी जेसीजको आर्थिक सहयोग

Author Image
शनिवार, फागुन २९, २०७७

बिर्तामोड ।  अडियो लाइब्रेरीलाई व्यवस्थापन गर्न समस्या झेलिरहेको नेत्रहीन संघ झापालाई वीरता लेडी जेसीजले आर्थिक सहयोग गरेको छ ।

फागुन महिनाभरि वैवाहिक उत्सव र जन्मदिन परेका वीरता लेडी जेसीजका ६ जनाले खर्च कटाएर नेत्रहीन संघ झापालाई ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।
वीरता लेडी जेसीजले प्रत्येक महिनाको अन्तिममा ‘शुभ दिन शुभ कार्य’अन्तर्गत यस्तै सामाजिक र मानविय सेवा कार्य गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप फागुन भरि जन्मदिन र विवाह उत्सव परेका जेसीज सदस्यहरुको संयोजनमा यो कार्यक्रम गरियेको अध्यक्ष स्वस्तिका आचार्यले बताइन् ।

फागुन महिनाभरि बैवाहिक उत्सव परेका लेडी जेसीजका मन्जु ओली , पुजा काफ्ले खरेल , जन्मदिन परेका लीला खरेल , कोपिला सिटौला , सन्जु सापकोटा र उर्मिला खरेलका तर्फबाट सो सहयोग उपलब्ध भएको अध्यक्ष आचार्यले जानकारी दिइन् । सोही अवसरमा शनिबार जन्मदिन परेका बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले पनि नेत्रहीन संघलाई ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

नेत्रहीनहरुका लागि अनवरत सहयोग गर्दै आएका शिक्षक खिलप्रसाद शिवाकोटीको प्रमुख आतिथ्य , लेडी जेसीज अध्यक्ष आचार्यको अध्यक्षता एवं सहयोगी राउतको विशेष आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड ४ की वडा सदस्य कविता थापा , इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष भूमिका पोखरेल , वीरता लेडी जेसीजका पूर्व अध्यक्ष एवं बिर्तामोड उद्योग वाणिज्य संघका जनासम्पर्क उपाध्यक्ष नैनकला भट्टराई , नेत्रहीन संघका निवर्तमान अध्यक्ष द्रोणचार्य निरौलालगायतले बोलेका थिए । कार्यक्रमका वक्ताहरुले नेत्रहीन संघलाई खर्चको अभावमा अडियो लाइब्रेरीका लागि कर्मचारी व्यवस्थापन गर्न गाह्रो भइरहेकाले अक्षय कोष स्थापना गरी त्यसबाट व्यवस्था मिलाउन सुझाव दिएका छन् । उनीहरुले अक्षय कोष स्थापनाका लागि बिर्तामोड नगरपालिकालगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । जेसीजका महासचिव हिमा पोडेलले संचालन गरेको कार्यक्रमको उद्धेश्यमाथि निवर्तमान अध्यक्ष सुष्मा पौडेलले प्रकाश पारेकी थिइन् । कोपिला सिटौलाले आस्था वाचन र जेसीआई मिशनरभिजन र नेपाल जेसीजको तथा शाखाको थिम उपाध्यक्ष अर्चना राउतले वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य मन्जु ओलीले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर