काठमाडौँ — कोभिड–१९ को उच्च जोखिम रहेका बेला पनि बढिरहेको रेमिट्यान्स पछिल्ला महिनामा भने घट्न थालेको छ । नेपालमा रेमिट्यान्स आउने प्रमुख राष्ट्र कोभिडबाट प्रभावित भएको समयमा नघटेको रेमिट्यान्स अवस्था सामान्य हुँदा भने घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्वदेश तथा विदेशमा आर्थिक गतिविधिमा तीव्र सुधार भएका तथ्यांक सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा पनि रेमिट्यान्स बढ्नुको साटो घट्नुले हुन्डीलगायत नेपालमा पैसा भित्रिने गैरकानुनी माध्यम सक्रिय भएको जानकारहरू बताउँछन् । ‘लकडाउनको समयमा हिँडडुलमा पनि समस्या थियो, यसकारण हुन्डीलगायत अनौपचारिक माध्यम निष्क्रिय थिए । जसकारण लकडाउनमा पनि रेमिट्यान्स बढ्यो,’ स्रोतले भन्यो, ‘अवस्था सामान्य भएसँगै फेरि ती माध्यमका गतिविधि बढेका छन् । पछिल्ला दिनमा नेपाल भित्रिने नेपालीले नगद पैसाको साटो जिन्सी ल्याउने प्रवृत्ति पनि बढेको छ । यसले पनि रेमिट्यान्स प्रभावित भएको स्रोतको दाबी छ ।
चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको माघसम्ममा रेमिट्यान्स ०.७ प्रतिशतले घटेको थियो । वार्षिक रूपमा रेमिट्यान्स बढेको देखिए पनि गत पुसको तुलनामा माघमा झन्डै ८ प्रतिशत (६ अर्ब रुपैयाँ) ले घटेको छ । राष्ट्र बैंकको सात महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत माघमा मात्र ७२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । गत पुसमा रेमिट्यान्समार्फत साढे ७८ अर्ब रुपैयाँ भित्रिएको थियो ।
लकडाउन खुकुलो भएसँगै विदेशी मुद्रा विदेशमै राख्ने प्रवृत्ति पनि बढेको हुन सक्ने पूर्व अर्थ सचिव रामेश्वर खनाल बताउँछन् । ‘मुलुक बाहिरै विदेशी मुद्रा (डलर) को कारोबार गर्न रेमिट्यान्स कम्पनी नै संलग्न भएका हुन सक्छन्,’ उनले भने, ‘यो प्रक्रियामा नेपाल आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखिन्छ र नेपालमा नेरुमै भुक्तानी दिइन्छ ।’ कोभिडको अवस्था सामान्य बन्दै गएकाले पैसाको साटो जिन्सी ल्याउने, डलर विदेशमै राख्नेलगायत प्रवृत्ति बढेकाले रेमिट्यान्स प्रभावित भएको हुन सक्ने उनको अनुमान छ ।
गत आर्थिक वर्षका सात महिनासम्म अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशत बढेर ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशत घटेको थियो । गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कात्तिकमा ७८.९ अर्ब, मंसिरमा ७९ अर्ब, पुसमा साढे ७८ अर्ब र माघमा करिब साढे ७२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । त्यतिबेला रेमिट्यान्स धेरैले घट्ने अनुमान गरेका थिए । तर प्रक्षेपण गरिएभन्दा विपरीत हरेक महिनाजसो रेमिट्यान्स बढ्यो ।
कोभिडको संक्रमण सकिएपछि मुलुकभर आर्थिक गतिविधि बढ्यो, कतार, मलेसिया, दुबईलगायत धेरै रेमिट्यान्स आउने राष्ट्रको आर्थिक गतिविधिमा सुधार आएको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् । ती सुधारले रेमिट्यान्स आप्रवाहमा पनि सुधार आउनुपर्ने हो । तर रेमिट्यान्स घट्न थाल्यो । सो प्रवृत्तिलाई धेरैले हुन्डीलगायत पैसा पठाउने गरैकानुनी माध्यम सक्रिय भएको रूपमा हेरेका छन् । नेपालमा विद्युतीय माध्यम वालेटबाट रेमिट्यान्स पठाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा ल्याउनकै लागि उक्त व्यवस्था गरिएको राष्ट्र बैंकको दाबी छ । यद्यपि अवस्था सामान्य भएको परिस्थितिमा पनि रेमिट्यान्स घट्नुले राष्ट्र बैंकको नीतिगत व्यवस्थामा पनि चुनौती थपेको जानकारहरू बताउँछन् ।
शोधनान्तर बचत घट्यो
चालु आर्थिक वर्षको सात महिनासम्मको तथ्यांकअनुसार भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । गत वर्षको सोही अवधिमा यस्तो बचत २१ अर्ब ६१ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा गत माघसम्म ८१ करोड ७६ लाखले बचतमा छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले शोधनान्तर बचतमा थियो ।’ शोधनान्तर बचतमा देखिए पनि मासिक रूपमा गत पुसको तुलनामा माघमा शोधनान्तर बचतमा कमी आएको छ । आर्थिक गतिविधिमा सुधार भएसँगै आयात पनि बढेकाले गत माघमा शोधनान्तर बचतमा कमी आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । ‘मासिक रूपमा रेमिट्यान्स आप्रवाहमा केही कमी आएको छ भने आयात बढेको छ,’ उनले भने । आयात यही रूपमा बढ्दै गएमा आउँदा महिनामा शोधनान्तर झनै प्रभावित हुने उनले बताए ।
चालु खाता घाटा बढ्यो
मुलुकको चालु आयव्ययको हिसाब देखाउने चालु खाता गत माघमा १ खर्ब १ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा चालु खाता घाटा घटेको देखिन्छ । जसअनुसार २०७६ माघमा यो खाता १ खर्ब ६ अर्ब रुपैयाँले घाटामा थियो । तर चालु आर्थिक वर्षका अघिल्ला महिनाहरूको तुलनामा भने गत माघमा चालु खाता घाटा बढेको छ ।
गत साउनदेखि कात्तिकसम्म चालु खाता बचतमा थियो । गत मंसिरदेखि यो खाता पुनः घाटामा जान थालेको हो । सो प्रवृत्तिले पुस र माघमा पनि निरन्तरता पाएको प्रतिवेदनले देखाएको छ । पछिल्ला महिनामा घाटाको रकम भने बढ्दो छ । गत साउनअघि चार वर्षसम्म चालु खाता निरन्तर घाटामा थियो । लकडाउनका कारण आयात घटेको, सेवाअन्तर्गत भ्रमण, शिक्षालगायतमा मुलुकबाट बाहिरिने खर्च कम भएकाले चालु खाता बचतमा गएको राष्ट्र बैंकले बताउँदै आएको थियो । अब भने अवस्था फेरि पुरानै स्थितिमा आउन लागेको जानकारहरू बताउँछन् । अघिल्ला महिनाको तुलनामा गत मंसिरयता आयात बढेको, विदेशी लगानी रहेका केही कम्पनीले लाभांश लगेकोलगायत कारण चालु खाता घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । चालु खातामा वस्तु आयात–निर्यात, सेवा आयात–निर्यात, रेमिट्यान्सलगायत रकम ट्रान्सफर अनि मुलुकलाई प्राप्त आय र व्यय समावेश गरिन्छ ।
वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत माघमा २.७० प्रतिशत छ । गत आर्थिक वर्षको माघको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको माघमा यस्तो मूल्य वृद्धिदर ६.८७ प्रतिशत थियो । वार्षिकजस्तै मासिक रूपमा पनि गत माघमा मूल्यवृद्धिदरमा कमी आएको तथ्यांकले देखाउँछ । जसअनुसार गत पुसमा ३.५६ प्रतिशत थियो । नेपालको कारणले भन्दा पनि पछिल्ला महिनामा भारतमा मूल्यवृद्धिदरमा कमी आएको छ । त्यसको प्रभावले नेपालमा पनि परेको जानकारहरू बताउँछन् । यो समाचार आजको कान्तिपुरमा यज्ञ बञ्जाडेले लेखेक छन् ।