
नेपाली दूतावासले खोप बेइजिङमा तयार रहेको भन्दै पटकपटक जानकारी गराएको छ, तर कहिले उत्तर र कहिले दक्षिण ढल्किने राजनीतिले अहिले चिनियाँ सहयोग उपेक्षा गरेको छ, यता मौज्दात अभावले पहिलो डोज रोकिएको छ, दोस्रो डोज १२ सातापछि मात्र सुरु हुँदै छ

चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन । १८ माघमा नै नेपाललाई तीन लाख डोज खोप दिने घोषणा गरेको चीनले अनुदान बढाएर आठ लाख पुर्याएको छ । तर, खोप ल्याउने विषयमा भने प्रगति भएको छैन ।

नेपाली दूतावासले अनुदानको खोप बेइजिङमा तयार रहेको भन्दै पटकपटक जानकारी गराएको छ, तर कहिले उत्तर र कहिले दक्षिण ढल्किने राजनीतिले अहिले चिनियाँ सहयोग उपेक्षा गरेको छ, जब कि मौज्दात अभावले दोस्रो डोजको खोप ढिलो भएको छ । नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ । खोप अभावले पहिलो डोज लगाउन खोज्नेहरू पनि निरास छन् ।
१८ माघमा नै चीनले तीन लाख डोज खोप दिने घोषणा गरेको थियो, तर सो खोप नेपाल आएन । पाँच दिनपछि २३ माघमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी स्टेट काउन्सिलर वाङबीच टेलिफोन कुराकानी हुँदा चिनियाँ पक्षले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यस्तै, पछिल्लोपटक १७ फागुनमा चीनले सार्वजनिक जानकारीमार्फत नेपाललाई आठ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भनेको थियो ।

अनुदानको खोप बेइजिङबाट नेपाल आफैँले ढुवानी गर्नुपर्ने चीनको सर्त नेपालले मञ्जुर गरेको छ । तर, सरकारले खोप ल्याउने तयारी भने गरेको छैन । ‘चीनले नेपाललाई दिने कोभिडविरुद्धको खोप बेइजिङमा तयारी अवस्थामा छ भन्ने जानकारी पाएका छौँ । नेपालबाट जहाज पुग्नासाथ खोप पठाउन समस्या छैन,’ बेइजिङस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘खोप चीनले दिने र नेपालले आपूर्ति गर्ने भन्ने बुझाइमा समस्या छैन ।’ तर, सरकारले खोप लिन जहाज पठाउने निर्णयसमेत गरेको छैन ।
चीनले आफैँ ल्याइदिए लगाउने, ढुवानी गर्नुपर्ने भए पर्खने नेपाल सरकारको रणनीति रहेको परराष्ट्र मन्त्रालयको स्रोतले बतायो । ‘खोप अहिले कूटनीतिक साधन पनि हो । भारतको खोपलाई प्राथमिकतामा र चिनियाँ खोपलाई प्रतीक्षामा राखेर नेपाल सरकारले कूटनीतिक सन्देश दिन खोजेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘यस्तो महामारीका वेला अनुदानमा पाएको खोप तयार छ, लिन आऊ भन्दा पनि जहाजसमेत नपठाउनुको अरू कारण केही हुन सक्छ ?’
त्यसो त भारतमा उत्पादित कोभिसिल्डलाई तत्कालै अनुमति दिएको नेपाल सरकारले चीनको सिनोफार्मले उत्पादन गरेको खोपलाई भने स्वीकृति दिन पनि विलम्ब गरेको थियो । औषधि व्यवस्था विभागमा सँगसँगै निवेदन दिएकोमा भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्डले १५ जनवरीमा स्वीकृति पाएको थियो भने चिनियाँ सिनोफार्मको भेरो–सेललाई १७ फेब्रुअरीसम्म पर्खाइएको थियो । नेपालको ढिलाइप्रति चीनले कूटनीतिक च्यानलमार्फत अप्रसन्नता व्यक्त गरेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।
‘एकातिर सरकारले अनुदानमा खोप माग्ने, अर्कातिर औषधि व्यवस्था विभागबाट स्वीकृत दिलाउन ढिलाइ गर्नेजस्ता अपरिपक्व काम पनि यसबीचमा भएका छन् । अहिले खोप तयार छ भन्दा पनि लिन जहाज नपठाएर सरकारले अर्को अपरिपक्व काम गरिरहेको छ,’ परराष्ट्रका अधिकारीले चिन्ता गरे, ‘कहिले उत्तरको काखमै बस्न खोज्ने, कहिले दक्षिणबाहेक कोही छैन भन्ने व्यवहारले हामीले दुःख पाएका छौँ, त्यही क्रम निरन्तर छ ।’
कोभिडविरुद्ध महामारीको नयाँ वेभ चलिरहेकाले संसारभर खोप अभाव छ । तर, चीनले अनुदानमा दिन्छौँ भनेको खोप ल्याउन पनि नेपालले आनकानी गरेको छ । ‘नेपालले खोप ल्याउन विलम्ब गर्दा उसले दिने भनिएको खोप पनि नपाउने सम्भावना रहन्छ । किनभने अहिले संसारमा खोपको उपलब्धता सोचेजस्तो हुन सकेको छैन भन्ने हामीले बुझ्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन् ।
नेपाललाई आठ लाख खोप दिने घोषणा गर्दै चिनियाँ दूतावासको प्रेसनोटमा भनिएको थियो, ‘कोभिड– १९ विरुद्ध नेपालको लडाइँलाई समर्थन गर्न चीन सरकारले अनुदानमा नेपाललाई दिने खोपको डोज ८ लाख पुर्याउने निर्णय गरेको छ ।’
चीन र बाहिर व्यापक रूपमा खोपको माग बढिरहेका वेला चीन सरकारले नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने निर्णय गरेको पनि चिनियाँ दूतावासले भनेको छ, ‘खोप उपलब्ध गराएर चीनले नेपाल–चीन मित्रतालाई ठूलो महत्व दिएको छ ।’
अहिलेसम्म जम्मा २३ लाख डोज खोप आयो, ६ लाख डोज मात्र मौज्दात
– भारतबाट प्राप्त अनुदान : १० लाख
– कोभ्याक्स सुविधामार्फत : २२ लाख घोषणा भएकोमा ३ लाख ४८ हजार प्राप्त
– सेरमसँग सरकारले खरिद गरेको : २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र प्राप्त
– हालसम्म प्राप्त जम्मा : २३ लाख ४८ हजार
– अहिलेसम्म प्रयोग भएको खोप : १६ लाख ७३ हजार
– बाँकी खोप : ६ लाख ७४ हजार
– आउन बाँकी : चिनियाँ अनुदान ८ लाख डोज
पहिलो डोज लगाउने अभियान जारी रहेको र दोस्रो डोजको तयारी भइरहेको वेला नेपाल सरकारसँग खोप अभाव भएको छ । भारतीय कम्पनी सेरमसँग नेपाल सरकारले २० लाख डोज खरिद गरेकोमा १० लाख डोज मात्रै आएको छ ।
नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा सरकारले ११ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ । बाँकी १० लाख कहिले आउने निश्चित छैन ।
स्टक अभावले खोप अभियान नै प्रभावित भएको छ । अहिले केन्द्रीय खोप भण्डारण स्टोर टेकु र प्रदेश आपूर्ति केन्द्रहरूमा गरी दुई लाख ९८ हजार डोज खोप मौज्दात छ । त्यस्तै, ७७ जिल्लामा तीन लाख ७६ हजार गरी कुल ६ लाख ७४ हजार खोप प्रयोग हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । जब कि अहिलेकै अंकमा पनि दोस्रो खोप लगाउन १६ लाख ७३ हजार डोज आवश्यक छ ।
६५ वर्षमाथिका मात्रै १२ लाख ३४ हजारले खोप लगाएका छन् । ६५ वर्षमाथिको संख्या कुल १७ लाख ८२ हजार चार सय ६९ छन् । नेपालमा गत १४ माघदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको हो ।
सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाउने सूची बनाएको थियो । तर, दश लाख मात्रै खोप आएपछि सूची परिवर्तन गरी पाँच लाख सात हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । सो अवधिमा चार लाख ३८ हजार आठ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्षभन्दा माथिका उमेर समूहमा दोस्रो चरणको खोप लगाउने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो । तर, समयमा खोप नआएपछि उमेर समूह ५५ बाट ६५ पुर्याइएको थियो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सेरमसँग २० लाख खरिद गरिए पनि १० लाख मात्र र कोभ्याक्स सुविधाले तीन लाख ४८ हजार मात्रै आएपछि खोप लगाउने उमेर समूह नै परिवर्तन गर्नुपरेको हो ।
देशभर ५५ वर्षमाथिका ३७ लाख १२ हजार ६ सय २१ जना नागरिक छन् । स्वास्थ्य मन्त्रालयले तत्काल ५५ वर्षदेखि ६४ वर्ष उमेरमा खोप सञ्चालन हुने अवस्था नभएको बताएको छ । सरकारले ७ वैशाखदेखि दोस्रो डोज लगाउने तयारी गरेको छ । तर, सरकारसँग स्टक सकिँदै छ, थप खोप आउने निश्चित भएको छैन ।
सेरमले समयमा खोप नदिँदा चार रुपैयाँ महँगो पर्यो
सेरम इन्स्टिच्युट अफ इन्डियाले २० लाख खोपको पैसा लिए पनि १० लाख डोज दिन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ फागुनमा रकम पठाए पनि खोप आएको छैन ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सेरमले ५० करोड २९ दिनदेखि होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ, यो आमनेपालीको पैसा हो । ती अधिकारीका अनुसार जति रकम होल्ड गरेर खोप पठाउँदैन सेरमलाई त्यति नै फाइदा छ ।
सरकारी काम गर्दा वर्षको १० प्रतिशतले ब्याज बढ्ने प्रावधान छ । यसबीचमा ५० करोडको ब्याज २९ दिनमा ३९ लाख ७२ हजार पाँच सय ९४ रुपैयाँ हुन्छ । सेरमले जति ढिला खोप दिन्छ यसको मूल्य महँगो पर्दै जान्छ । अहिलेसम्म १० लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइसकेको छ । यसलाई आधार मान्दा हरेक दिन एक लाख ३६ हजार नौ सय ८६ रुपैयाँ घाटा लाग्छ ।
‘खोप आउने आसले निश्चित वर्गमा लगाउने सूची तयार पारेको हुन्छ । सोहीअनुसारको तालिम, यातायात खर्च, भत्तालगायतको व्यवस्था गरिएको हुन्छ । तर, योजनाअनुसार नआउँदा पुनः नयाँ रूपमा कार्यक्रमको योजना बनाउनुपर्ने भएकाले ठूलो रकम थप खर्च हुन्छ,’ प्रवक्ता अधिकारीले भने ।
यो समाचार नयाँ पत्रिकाबाट साभार गरिएको हो ।
४६ करोड अग्रिम भुक्तानी भएको खोप भारतबाट आएन : चिनियाँ अनुदानको खोप लिन आठ सातासम्म जहाज गएन


