भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्न लागेपछि त्यहाँका जनता विरोधमा उत्रिएका छन्। मोदी मार्च २६ (आगामी शुक्रबार) बंगलादेश जाँदैछन्। भ्रमण शुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन्। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने मानिसहरूको एक समूहले मात्रै मोदीको विरोध गरेकाले चिन्तित हुनुपर्ने कारण नरहेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘केही मानिसहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाका आउने भएपछि विरोध अभियान चलाइरहेका छन्, तर चिन्ता गर्न आवश्यक छैन, बंगलादेश एक लोकतान्त्रिक देश हो, जहाँ अभिव्यक्ति स्वतन्त्रता छ। ‘
समाचार एजेन्सी एपीका अनुसार शुक्रबार बंगलादेशको राजधानी ढाकामा मुसलमान र छात्र संगठनहरूले मोदी भ्रमणको विरोधमा र्याली निकालेका थिए। भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको ५० औँ वर्षगाँठका अवसरमा २६ मार्चका दिन बंगलादेश जान लागेका हुन्। भारतीय सहयोगमै भएको रक्तपातपूर्ण लडाइँपछि बंगलादेश सन् १९७१ मार्च २६ का दिन स्वतन्त्र भएको थियो।
हिन्दु धर्मको सहारा लिँदै कट्टरपन्थी व्यवहार देखाउने गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले भारतमै मुसलमानहरूमाथि ज्यादती गर्नेगरेको आरोप लागिरहेको छ। मुसलमानहरूमाथि सत्ताबाटै दमन भइरहँदा मुस्लिम बाहूल्य बंगलादेशमा मोदीको भ्रमणलाई लिएर भैरहेको विरोधलाई स्वाभाविक मानिएको छ। भारतले ल्याएको नागरिकता संशोधन कानून, बंगाली आप्रवासीहरूमाथि भइरहेको अपमान, सीमा अतिक्रमण र हस्तक्षेपका कारण बंगलादेशमा पनि भारतको विरोध हुने गरेको छ।