Aamsanchar

९ वर्षदेखि लगातार ४ लिटर दूध दिइरहेको गाई

Author Image
सोमवार, चैत ९, २०७७

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो । २०६९ सालपछि गर्भधारण नगरेको गाईले दूध दिइरहेको छ । ‘आफ्नै घरमा पालेको माउले जन्माएको बाच्छो हो,’ खड्काले भने, ‘खै अहिले त गोरु पनि खोज्दैन, दूध पनि दिइरहेको छ ।’ दैनिक चार लिटर दूध दिने गरेको खड्का बताउँछन् । ‘बिहान–बेलुका त दोइहालिन्छ । आवश्यक पर्दा अरू समयमा पनि दूध दिन्छ,’ खड्काले भने । गाईको उमेर २१ वर्ष पुगेको उनले सुनाए । दूध कम आए बाक्लो र बढी आए अलि पातलो हुने खड्काको अनुभव छ ।

मोरङको उर्लाबारी नगरपालिका कुलझोडा निवासी प्रेमसागर भट्टराईले पालेको गाईले पनि १० वर्षदेखि दूध दिइरहेको छ । ‘गाई २०६७ माघ ११ मा ब्याएको हो, त्यसपछि छैन,’ प्रेमसागरले भने, ‘मैले उर्लाबारी, दमकका डाक्टरलाई देखाएँ, नभएपछि विराटनगरबाट पशु डाक्टरलाई ल्याएर पनि देखाएको थिएँ ।’ डाक्टरहरूले औषधि चलाएर पनि गर्भ बस्ने बनाउन नसकेको उनले बताए ।

यस्ता घटना अत्यन्तै कम हुने पशु ज्ञान केन्द्र ताप्लेजुङका डा.सौरभ श्रेष्ठको भनाइ छ । ‘जतिमा भएको छ, त्यो वातावरण र वंशानुगत गुणका कारण हुन सक्छ,’ उनले भने । हार्मोनका कारण गाईले दूध दिइरहेको हुन सक्ने पशुसेवा कार्यालय पाँचथरका डा.इन्द्रनारायण शाहले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर