Aamsanchar

एमाले र जसपाबीच भएको वार्ता निष्कर्षविहीन

Author Image
मङ्गलवार, चैत १०, २०७७

काठमाडौं – सत्ता सहकार्य गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच भएको पछिल्लो वार्ता निष्कर्षविहीन टुंगिएको छ। बालुवाटारमा भएको छलफलमा कुनै सहमति बन्न नसकेको हो। छलफल भएपनि कुनै सहमति बन्न नसकेको जसपा नेता लक्ष्मणलाल कर्णले बताए। हाम्रो एजेण्डाको विषयमा छलफल भयो, तर कुरा मिलेको छैन, उनले भने।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस निर्णय नगरेपनि आश्वासन दिएको उनले बताए। प्रधानमन्त्री ओलीले जसपा नेताहरूलाई वार्ताका लागि बालुवाटार बोलाएका थिए। छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए। एमालेका तर्फबाट सुवास नेम्बाङ, डा.राजन भट्टराई र विष्णु पौडेल सहभागी थिए।

जसपाले सत्ता सहकार्य गर्न संविधान संशोधन र सांसद रेशम चौधरीलाई रिहाइलगायत एजेण्डा राख्दै आएको छ। सत्ता सहकार्यबारे जसपाभित्रै विवाद छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)पक्षधर नेताहरू ओलीसँग सहकार्य गरेर जानुपर्ने पक्षमा छन्। यता, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कांग्रेस(माओवादी(जसपाको संयुक्त सरकार बनाएर ओलीलाई हटाउने गृहकार्यमा छन्। एमालेसँग सत्ता सहकार्य गर्न जसपाले कार्यदल समेत गठन गरेको थियो। ओली र जसपा नेताहरूबीच सोमबार पनि भेटवार्ता भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर