Aamsanchar

सिद्धान्तहिन राजनीति र दिशाविहिन युवा

Author Image
मङ्गलवार, चैत १०, २०७७

हरेक चीजको एउटा आफ्नै निश्चित सिद्धान्त र नियम हुन्छ। जुन सिद्धान्त र नियमको परिधिभित्र रहेर यो ब्रम्हाण्ड, प्रकृति, वनस्पति र यस धर्तीका सजीव प्राणीहरूले आफ्नो दैनिक गतिविधि सञ्चालन गर्दै, आफुलाई थप उन्नत र विकसित रुप दिन हरसम्भव प्रयत्नशील रहदै आएका छन्। किनकि यो नै स्वाभाविक प्रक्रिया पनि हो।
तर जसले आफुलाई प्राकृतिक नियम भन्दा बाहिर रहेर आफ्नो गतिविधि सञ्चालन गर्ने कोशिश गर्छ, उसको अन्त्य पनि त्यहीँ रुपमा अत्यन्त दर्दनांक र कारूणिक ढंगबाट हुनेगर्छ।

खासगरी यो ब्रम्हाण्डका सजीव प्राणी मध्ये मानव जाती भित्र अहिले विकास भइरहेको अत्यन्त निर्लज्ज व्यक्तिवादी र स्वार्थ केन्द्रित सोंच र व्यबहारले यो धर्तीको सबैभन्दा ‘विवेकशील र सचेत प्राणी’को विशाल परिचयलाई नै खुम्च्याउने कार्य स्वयम् मानव जातीबाट नै भइरहेको छ। यसरी जुन व्यक्ति वा समाजले ’ आफू जस्तै अर्को व्यक्ति र समाज पनि छ र हामी सबैको आवश्यकता र अभावको पीडा पनि उस्तै होू भन्नेकुरालाई हृदयंगमन नगरी ‘मै खाऊँ, मै लाऊँ र मै मात्र बाँचु’ भन्ने तरिकाबाट सोच्न थाल्छ भने, त्यो व्यक्ति वा समाजको पतन ढिलो -चाडो निश्चित छ। आज नेपालका ठूला राजनीतिक दल र तिनका नेताहरू यहीँ दर्दनांक र कारूणिक पतनको यात्रामा होमिएका छन्।
‘राजनीति भनेको पेसा नभई सेवा हो’ भन्ने सामान्य ज्ञानको समेत हेक्का राख्न नसक्दा, आज नेपालको राजनीति अत्यन्त सिद्धान्तहिन रुपमा शक्ति आर्जन गर्ने पेसामा परिणत हुन पुगेको छ। जब देशको विकास र कानुन बनाउने राजनीति नै यसरी सौदाबाजी गर्ने थलो बनेपछि, त्यस राजनीति र प्रणालीले जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्दै, देश र समाजलाई उन्नति र प्रगतिको बाटोतर्फ उन्मुख गराउँछ भनेर सोच्नु, आफ्नो मस्तिष्कले आफैंलाई धोका दिनु हो।
पार्टी संगठनको जन्म देश, काल, समय, परिस्थिति र आवश्यकताले हुनेगर्छ। र त्यस पार्टी संगठनको जन्मसंगै उनीहरूको एउटा निश्चित सिद्धान्त र लक्ष्य पनि रहेको हुन्छ। त्यो लक्ष्य र सिद्धान्त भनेको एउटा सहि वैचारिकीको धरातलमा उभिएर देशको समृद्धिमा कायापलट गर्नु नै हो। तर आज नेपालका खास ठूला राजनीतिक पार्टीहरूको उद्धेश्य चुनाव जित्नु र देशको शासन ( सत्तामा रजाइँ गर्नु बाहेक अरू खासै केही देखिदैन। जसका कारण आज के कांग्रेस, के कम्युनिस्ट, के राप्रपा, जोसुकै संगपनि चुनाव जित्नको लागि साँठगाँठ गर्ने गरिन्छ। यस्तो अप्राकृतिक सांठगांठले व्यक्ति होस् वा पार्टी, जसलाई पनि सिद्धान्त च्युत गराउँदै आफ्नो स्वार्थको निम्ति सम्झौतापरस्त नीति अवलम्बन गर्न नै बढी मद्धत गर्ने काम गर्छ। सिद्धान्तहिन राजनीतिको दुष्परिणामहरू समाजमा कुन रुपमा प्रकट हुन्छन् भन्नेकुरा, अहिले नेपाली राजनीतिमा छरप्रस्टै देखिएका छन्।

एउटा सहि सिद्धान्तको अभावमा मानिसले आफ्नो सहि लक्ष्य निर्धारण गर्न सक्दैन। यदि जीवनमा कुनै लक्ष्य नलिने र त्यसलाई प्राप्त गर्न संकल्प नगर्ने हो भने निश्चित छ, जीवन दिशाविहिन बन्नेछ। दिशा  विहिनताले मानिसलाई कता पुर्याउंछरु अहिले यसै भन्न सकिदैन। आज हाम्रो नेपाली राजनीतिमा जुन प्रकारको गैरजिम्मेवार र भ्रष्ट प्रवृत्ति मौलाउदै गइरहेको छ र जिम्मेवार निकायमा बसेका नेताहरूले जन चाहाना विरुद्ध राजनीतिको रङ्ग दिएर जुन प्रकारको अनैतिक र अस्वाभाविक गतिविधि गरिरहेका छन्, जसका कारण देशका कर्णधार युवाशक्तिहरूको मनमा फेरि अन्यौलता, अनिश्चितता र दिशा  विहिनताले घर जमाउने खतरा बढेर गएको छ।

किनकि जोश, जांगर र उत्साहले भरिएको एउटा युवाको जिम्मेवारी केवल आफ्नो व्यक्तिगत जीवन धान्ने मात्र हुँदैन। ऊ संग आफ्नो व्यक्तिगत जीवन र परिवार हुँदै, समाजलाई गतिशील बनाउन र अग्रगामी परिवर्तनको आकाङ्क्षालाई लक्ष्य सम्म पुर्याउने समेत अभिभारा रहेको हुन्छ। यस्तो एउटा ऐतिहासिक जिम्मेवारी बोकेको युवा शक्तिलाई राजनीतिक नेतृत्व तहमा बस्ने नेताहरूले आफू सत्तामा चढ्ने भर्याङ्को रुपमा मात्र प्रयोग गर्नाले, युवाहरूमा भविष्यप्रति निराशा र आफ्नै जीवनप्रति वैराग जाग्न थालेको देखिन्छ। तसर्थ आज कतिपय उर्जावान युवाशक्तिहरू दिशाहिनता र गन्तव्यविहिन भएर कुलतको साहारा समेत लिन पुगिरहेका छन्। यो मुलतः राजनीतिक नेतृत्वको कुकर्मको फल र युवाहरूमा समेत विद्यमान देखिएको वैचारिक संकटकै परिणाम हो।
त्यसैले आज संख्यामा थोरै होला, तर सचेत युवाशक्तिहरूले समाजमा झन् धेरै जिम्मेवारी वहन गर्नैपर्ने अवस्था आइलागेको छ। ती जिम्मेवारीहरू मध्ये वैचारिक स्पष्टताको अभावमा दिशा विहिन भई, एउटा राजनीतिक (बधुँवा) मजदुरूको रुपमा परिणत हुन पुगेका युवाहरूको बीचमा व्यापक वैचारिक अभियान सञ्चालन गर्नुपर्ने टड्कारो देखिन्छ।

यसरी वैचारिक जागरण अभियान संगसंगै आर्थिक समानता, सामाजिक न्याय र रुढीबादी अन्धविश्वासमा आधारित कयौं सांस्कृतिक परिवर्तनहरूको पहलकदमी लिनु वा जिम्मा लिनु नै आजका एक्काइसौं शताब्दीका सचेत युवाहरूको मुख्य जिम्मेवारी हो। यदि यो ऐतिहासिक जिम्मेवारीबाट भाग्ने र वहन नगर्ने हो भने, एउटा युवा हुनुको नाताले यो समाजका सचेत युवाहरूलाई भोलि आउने पिंढीले धिक्कार्ने छन्।

(लेखक) भविष्यप्रति आशावादी बन्दै, क्षितिजपारी रहेको समृद्धि र समानताको ढोका एकदिन अवस्य खोल्ने संकल्प सहित, अहिले अटो (टेम्पो) चालकको रुपमा नेपालको सुदुर पूर्वमा कार्यरत छन्।) [email protected]

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर