Aamsanchar

पूर्व जनमुक्ति सेनाका घाइते योद्धा भुलको कन्तविजोक

Author Image
बिहिवार, चैत १२, २०७७

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिका-१८ का भुल बहादुर विक पूर्व जनमुक्ति सेनाका घाइते योद्धा हुन्। वि.सं. २०५८ सालदेखि जनमुक्ति सेनामा लागेका विकले युद्ध लड्ने क्रममा जुम्ला खंलगामा लड्दा दायाँ खुट्टा गुमाए। अहिले उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएका छन्।

शान्ति सम्झौतापछि वि.सं. २०६४ मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिका(१९, संक्राममा दीर्घ स्मृति ब्रिगेड अन्तर्गत ब्यारेकमा बसे। सेना समायोजन भएपछि राज्यले उनलाई ५ लाख रुपैयाँको चेक दियो। उनी त्यही चेक बोकेर ब्यारेकबाट घर गए। तर, युद्धमा खुट्टा नै गुमाएका उनलाई दैनिकी चलाउन उनलाई समस्या परेको छ। ‘काम गरौँ, त सकिँदैन, नगरौँ त दैनिकी चलाउन समस्या छ,’ उनले भने, ‘देशको परिर्वतनका लागि लडियो, व्यवस्था नै परिर्वतन पनि भयो, तर म जस्ता घाइते अपाङ्ग योद्धाहरूको अवस्था दयनीय भयो, राज्यले पनि हेर्दैन, शुरूमा ५ लाख रुपैयाँ दियो, हामीलाई सबैथोक दिएजस्तै गर्‍यो।’

संक्राम ब्यारेकमा आफूजस्तै करिब ३५ जना घाइते अपाङ्ग साथीहरू बस्ने गरेकामा २०६८ साल फागुन महिनाबाट सेना समायोजन शुरू भएपछि आफूहरू ५ लाख रुपैयाँको चेक बोकेर निस्किएको उनले बताए। त्यसयता हालसम्म राज्यबाट सहयोग नपाएको उनले गुनासो गरे।

अहिलेसम्म पनि ११ सय बेपत्ता साथीहरूको खोजी कार्य नगरिँदा उनलाई झनै ननिको लाग्ने गरेको छ। ‘अहिले न राज्यले घाइते अपाङ्‌गहरूलाई नै हेरेको छ, न त जनयुद्धका क्रममा बेपत्ता भएका ११ सय साथीहरूको न खोजीकार्य भएको छ, उनले भने, उनीहरूको अवस्थाबारे परिवारलाई कुनै जानकारी दिइएको छैन, हाम्रा साथीहरू जिउँदै छन्‌ या शहीद भइसके भन्ने केही थाहा लाग्न सकेन।’

परिर्वतनका लागि शहीद भएका परिवारलाई समेत राज्यले खासै नहेरेको उनले गुनासो गरे। उनले थपे, ‘एउटा शहीद परिवारलाई १० लाख रुपैयाँ राहत दिएको हो, राज्यले सोही राहतमा सीमित गराएको छ, शहीदको परिवारलाई रोजगारीको व्यवस्था गर्न सकेको छैन, अहिले परिवारको अवस्था पनि पीडादायी नै छ।’

आफूहरू जस्ता घाइते अपाङ्‌गहरूको अवस्था झनै जटिल भएको दुखेसो उनले गरे। अहिले आफूहरूको अवस्था बिग्रिएको भएपनि नेताहरूको अवस्था सप्रिएको विकले देखेका छन्‌।​ उनले १० वर्षे सशस्त्र जनयुद्धबारे पछिल्लो पुस्तासम्म जानकारी पुर्‍याउन राज्यले विशेष ध्यान दिनुपर्ने बताए।’ २०२८ सालमा झापा आन्दोलन हुँदा त्यहाँ कति घाइते थिए, कति शहीद भए भन्न कतै पाइँदैन, त्यसैले जनयुद्धको इतिहास राख्नको लागि विभिन्न ठाउँहरू संग्रहालयहरू बनाउनुपर्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर