Aamsanchar

आज ‘विश्व नेवाः दिवस’

Author Image
शनिवार, चैत १४, २०७७

हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । यो वर्षको विश्व नेवाः दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।

काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् ।

नेवास् साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो । आज चौथो नेवास् दिवस हो । आजको दिन वल्र्ड नेवास् अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवास् समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।

यो वर्षको नेवाः दिवस मनाउने सन्दर्भमा वल्र्ड नेवाः अर्गनिजेशनका नेपाल च्याप्टरले चैत १४ मा बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ । विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहने बताइएको छ ।

उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ठ व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिने भएको छ । यसैगरी ‘विश्वका नेवार  ‘चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरू मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ता रहनेछन् ।

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, सांस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरू समेटिएको स्मारिकाको पनि विमोचन गरिने बताइएको छ ।

हुन त, अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वभाविक रूपमा उब्जिन सक्छ । अझ नेवाः दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवाः दिवस भनी मनाए पनि नहुने होइन ।

यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबीच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।

नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसैगरी क्यानाडा, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा वर्षेनि म्हपूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।

त्यसकारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवाः दिवस मनाउने शुरुवात सन् २०१८ देखि सुरु भएको हो ।

सन् २०१८ मा विश्व नेवाः दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसैगरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदैछ ।
आजको दिन बिहान ८ बजे नेवास् समुदायका मानिसहरूले सांस्कृतिक -यालि आयोजना गर्दैछन् । यो -याली राष्ट्रिय सभा गृहमा आएर तेश्रो विश्व नेवा सम्मेलनमा टुंगिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा सम्मेलन यसवर्ष भने नेपालमै भएको हो ।

नेवास् समुदायमा आइरहेको बिभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन बिशेष छलफल हुने गरेको छ । नेवाः समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर