राजधानीमा जारी त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल खेल्दैछ। नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी आवश्यक रहेको छ। तर, बंगलादेशले २ गोल अन्तरमा जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।
यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १(० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश त्रिदेशीय कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले जित निकालेको भए नेपाल पनि फाइनल पुगिसकेको हुने थियो । तर, आधा घण्टाभन्दा बढी १० खेलाडीमा सीमित भएको किर्गिस्तानसँग बराबरी खेलेपछि आज नेपाली टोली दवावमा छ।
त्रिदेशीय कपमा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् । तर, किर्गिस्तानको भने २३ वर्षभन्दा मुनिको टोली सहभागी भएको छ। फाइनल सोमबार हुनेछ।