Aamsanchar

भोजपुरको एक गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने

Author Image
आइतवार, चैत १५, २०७७

भोजपुर- पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यवसायिक तालिम दिएको छ। गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो। मोरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

‘हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकहरुले परम्परागत रुपमा भए पनि मौरीपालन गर्दै आउनुभएको छ। उहाँहरुलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्रावधिक सहयोग गर्दै आएको छ। मौरीपालनका लागि आवश्यक चरण क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ।’

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिका भित्रका २८ जना कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए। साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घारहरु वृद्धिबारे समेत जानकारी दिइएको प्रमुख राईको भनाइ छ।

यस अघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्न घार तथा गोलासहित मौरी वितरण गर्दै आएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० ओटा घार र आर्थिक वर्ष २०७६/७७ मा ४७ ओटा घार सहितको मौरी वितरण गरेको हो। गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताको आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राखिन्। साथै उनले कृषकहरुलाई सिर्जनशील भएर व्यवसायमा लाग्न समेत आग्रह गरिन्।

उपाध्यक्ष राईले भनिन्, ‘तपाईहरुलाई व्यवसायिक बनाउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ। व्यवसायिक रुपमा मौरीपालनमा लाग्नुभएका तपाईंका आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौं, विषेश गरी गाउँपालिकाका ४, ५ र ६ वडामा यसको राम्रो सम्भावना छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर