काठमाडौं –बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।
यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।
यसैबीच नेकपा एमालेको बागमती प्रदेशसभा संसदीय दलको बैठक बुधबार दिउँसो काठमाडौंमा बस्दै छ । सो बैठकमा आफूहरु पनि सहभागी हुने शाक्यले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘हामी दलको बैठकमा सहभागी हुन्छौं र आफ्ना कुराहरु राखेर बाहिरिन्छौं ।’