Aamsanchar

झापामा निर्माणाधिन बायोग्यास प्लान्टको पाइपलाइन विस्तारका लागि सरकारद्वारा ४ करोड निकासा

Author Image
बुधवार, चैत १८, २०७७

झापा – फोहोरमैला प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले झापामा निर्माण भइरहेको बायोग्यास प्लान्टका लागि सरकारले दिने रकम निकासा भएको छ । पाइपलाइन विस्तारका लागि सरकारले दिन लागेको अनुदान रकममध्ये चार करोड रुपैयाँ निकासा भएको हो ।

कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रबाट उत्पादित फाहोरमैला व्यवस्थापन तथा प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले कनकाई नगरपालिका–२ सुकेडाँगीमा बायोग्यास प्लान्ट निर्माण गरिरहेको छ ।

१६ करोड ६४ लाख रुपैयाँ अनुमानित लागतमा सम्पन्न गर्नेगरी तीन बिगाहा १० कठ्ठा क्षेत्रफलमा आयोजना निर्माण भइरहेको छ । आयोजनाका लागि सरकारले पाँच करोड ६५ लाख रुपैयाँ अनुदान दिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

सो रकममध्ये यस बर्ष चार करोड रुपैयाँ निकाशा भइसकेको उनले जानकारी दिए । ‘सरकारले यस प्रोजेक्टमा हामीलाई अत्यन्तै सहयोग गरेको छ,’ उनले भने, ‘हाललाई चार करोड रुपँयाँ निकासा भइसकेको छ ।’ बाँकी रकम आगामी वर्ष निकासा हुने उनले बताए । रकम निकासा भइसकेकाले तत्कालै टेण्डर खुलाएर पाइपलाइन विस्तारको कामलाई अगाडि बढाइने उनको भनाइ छ ।

प्लान्टबाट दैनिक उत्पादन हुने ग्यासलाई पाइपलाइनबाट हाललाई एकहजार दुई सय घरधुरीमा पु¥याइने लिमिटेडका प्रवन्धनिर्देशक दिपक चापागाईले बताए । प्लान्टबाट ग्याससहित दैनिक १० टन कम्पोष्ट मल उत्पादन हुने बताउँदै उनले भने, ‘हामी यहाँ उत्पादन भएको मल १० देखि २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्छौं ।’ चार हजार घनमिटर क्षमता रहेको वायोग्यास प्लान्टको ९० प्रतिशत काम पूरा भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर