काठमाडौं – नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज (शुक्रबार)बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् । बिहीबार मात्रै कास्की जिल्ला कमिटी पनि समानान्तर बनेको छ । कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचनाको उद्घोष गरेका छन् । आज बैठक बसेर थप रणनीति तय गर्ने खनाल–नेपाल समूहको योजना छ ।