Aamsanchar

मोरङ : खाद्यान्न लगायतका वस्तु ट्रकभित्र भुसको बोराले छोपेर भारतबाट तस्करी हुने गरेको खुलासा

Author Image
शनिवार, चैत २१, २०७७

विराटनगर – मोरङको दक्षिण–पूर्वी नाकाबाट ढुवानीका ठूला साधनभित्र भुसको बोराले छोपेर खाद्यान्न लगायत उपभोग्य वस्तुको तस्करी हुने गरेको पाइएको छ। तस्करीमा संलग्न गिरोहले भारतबाट भन्सार छली गरेर दैनिक उपभोग्यसहित अन्य वस्तुको अवैध आयात गरिरहेको पुष्टि भएको हो।

सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रंगेलीका प्रहरी निरीक्षक कमलबहादुर अधिकारी नेतृत्वको टोलीले शुक्रबारसाँझ ठूलो परिणामको तस्करीको सामाग्री नियन्त्रणमा लिएको छ। सशस्त्र टोलीले तस्करीमा प्रयोग गरिएको मिनी ट्रक पनि नियन्त्रणमा लिएको छ।

मोरङको रंगेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट चिनी, गहुँ, चामल, चोकरसमेतका तस्करीका सामाग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनाट्टिमा सशस्त्र प्रहरीको बीओपी यही चैत ९ गते उद्धघाटन गरेर सञ्चालनमा ल्याइएको थियो।

एसपी पौडेलकाअनुसार विशेष सूचनाका आधारमा को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा ट्रकसहित तस्करीका सामाग्री बरामद भएको छ। ट्रक र अवैध सामान गरेर १६ लाख रुपैयाँ बराबरको रहेको उनको भनाइ छ। सशस्त्र प्रहरीले मोरङको बेलबारीमा किराना पसल सञ्चालन गरेर बसेका भरत साहले सामान ल्याएको जनाएको छ। किराना पसल सञ्चालन गरेर बसेका उनी भारतबाट सामान तस्करी गर्ने धन्दामा लामो समयदेखि संलग्न रहेको सशस्त्रको भनाइ छ।

ढुवानीको साधनसहित अवैध सामान नियन्त्रणमा लिएपछि साह फरार बनेका छन्। भारतबाट सीमा कटाएर नेपाल छिराउनसाथ सशस्त्रले नियन्त्रणमा लिएर चेकजाँच गर्न खोज्दा ट्रक छाडेर चालक फरार बनेपछि खोजी तीव्र पारिएको एसपी पौडेलको भनाइ छ। उनका अनुसार पछिल्लो समय सीमा नाकामा निगरानी बढाएर उच्च सतर्कता अपनाइएपछि तस्करीमा नयाँ उपाय लगाउँदै ढुवानीका ठूला साधनको प्रयोग गर्न थालिएको पुष्टि भएको छ।‘तस्करीका सामान लोड गर्दै माथिबाट धानको भुसको बोराले छोपेर ल्याएको अवस्थामा ट्रक फेला परेको हो,’ उनले भने, ‘सशस्त्रलाई देख्नासाथ चालक छाडेर भागेसँगै ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा अवैध सामान फेला परेको थियो।’ बरामद भएका सामग्रीको कुनै बिल पनि नभएको उनको भनाइ छ।

पछिल्लो समय सीमामा कडाई गर्न थालिएपछि तस्करीमा संलग्नले नयाँ जुक्ति लगाउँदै ढुवानीका साधन प्रयोग गरेर अवैध धन्दा चलाइरहेको पाइएको सशस्त्रको भनाइ छ। एसपी पौडेलले बरामद भएको तस्करीका सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने बताए।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध धन्दा नियन्त्रणमा लिन र सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन निर्देशन दिँदै विशेष टोली परिचालन गरेका छन्। भारतसँगको ६३ दशमलव ४ किलोमिटर खुला सीमा रहेको मोरङमा सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको ११ वटा बीओपी छन्।

राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको प्राथमिकतामा रहेको दाहालले बताए। लागुऔषधको ओसारपसार, जडिबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी उनले दिए।

डीआईजी दाहालकाअनुसार दुई देशबीचको सीमा क्षेत्रलाई व्यवस्थित गर्दै तस्करी नियन्त्रण गरेर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएर सीमा क्षेत्रका बासिन्दालाई विपद्का समयमा सहयोग गर्ने र चोरी डकैती नियन्त्रण गरेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने अभियानमा सशस्त्र प्रहरी छ। विभिन्न खाले अपराध, अवैध गतिविधी, सीमा अतिक्रमण लगायतका समस्या र चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न सशस्त्रलाई उनको निर्देशन छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर