भर्खरै दशरथ रंगशालामा नेपाल, बंगलादेश र किर्गिस्तानबीच त्रिपक्षीय फुटबल म्याच भएको थियो । एउटै म्याचको शृृंखलाले पनि तीन वटै देश र विश्वलाई एक सूत्रमा बाँधिदियो । यस्ता खेलका आयोजना कहिले विश्वकप तर कहिले साग त कहिले यूरोकप अनि अमेरिकन कप गरी पटक–पटक बिभिन्न ठाउँमा अनि अनेक खेलका लागि हुने गर्छ । खेलकुद र शारीरिक क्रियाकलापले मानिस, देश अनि समुदायहरूलाई एक सूत्रमा बाँध्ने काम गर्छ ।
खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति हुन्छ र यो एक आधारभूत अधिकार पनि हो । सामाजिक सम्बन्धलाई सुदृढ गर्न र दिगो विकास र शान्ति र एकता र सम्मानका लागि एक शक्तिशाली उपकरणका रूपमा खेलकुदलाई लिइन्छ । हाम्रो अद्वितीय व्यक्तिगत कौशल र सामूहिक शक्तिको माध्यमबाट, हामी विकास र शान्तिका लागि एक साथ आउन सक्छौं । खेल र शारीरिक गतिविधिमार्फत् हाम्रो स्वास्थ्य र कल्याणका लागि रचनात्मक तरिकाहरूका रूपरेखा कोर्न सक्छौं ।
जब कीर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरूको भीड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोही धनी या गरिब हुँदैन । कोही ठूलो जातका या सानो जातका पनि हुँदैनन् या भनौ कोही पहाडका कोही तराईका हुँदैनन् । सबै एकै हुन्छन्, सबै नेपाली हुन्छन् । धेरैले याद गर्नु भएको होला, नेपालले कुनै पनि खेल जित्दा नेपाल जिन्दावादको नारा लगाउने भीडमा जति एकताको भावना सायदै कतै भेटिन्छ । यो प्रभाव खेलको हो, विश्वलाई एक सूत्रमा बाँध्ने खेलहरूले साझा सूत्रमा आधारित रहेर विश्वले शान्ति र विकासको मूलधार पहिचान गर्न सक्छ ।
हरेक वर्षको अप्रिल ६ मा मनाइने अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवसले शारीरिक गतिविधि र खेलकुदले विश्वका सबै कुनामा रहेका मानिस अनि समुदायलाई एकजूट पार्न सक्छ भन्ने कुराको पैरवी गर्छ ।
शान्तिका लागि पनि खेलकुदको महत्व अत्यन्त धेरै छ । खेलकुदले समूहमा खेल्न, सामूहिक कलाकौशल वृद्धि गर्न, भाइचरा बढाउन अनि समग्र शारीरिक, मानसिक, सामाजिक अनि सामुदायिक र राष्ट्रिय विकासमा समेत योगदान पु¥याउँछ ।
कोभिड–१९ को संक्रमण जोखिममा परेको छ, यो वर्षको अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस । यो दिवस आठौं संस्करण हो । २३ अगस्त सन् २०१३ मा संयुक्त राष्ट्र संघको साधारण महासभाले हरेक वर्षको अप्रिल ६ तारिखलाई अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
खेलकुदले विश्वलाई एक सूत्रमा बाँध्ने प्रयत्न साकार हुनुपर्छ र यो जरुरी पनि छ । यो वर्ष सामाजिक दुरी कायम गर्दै आफ्नै घरभित्र अनिश्चयको बन्दी भएका विश्वभरिका मानिसहरू अरु वर्ष भन्दा धेरै तनाव, डिप्रेशन अनि उदासीनताका शिकार भएका छन् । यी सबै कुराहरूबाट मुक्त हुन र जीवनलाई खुशीका साथ डोहो¥याउन खेलकुद र शारीरिक क्रियाकलापहरूको महत्व यस वर्ष विश्वमा झनै धेरै छ ।
आउँदा पुस्तालाई स्वस्थ राख्न, सामूहिक कलाहरू सिकाउन र खुशीका साथ जीवन बाँच्ने समग्र कौशल सिकाउन पनि खेलकुदको जरुरी छ ।
खेल निम्ति घरहरू भन्दा मैदान धेरै हुन जरुरी छ । खेल्दै सिक्दै अघि बढ्ने वातावरण हुन जरुरी छ । अनि खेलकुदलाई जीवनको अभिन्न अंग बनाउन हरेक उमेर समूहका मानिसका लागि जरुरी छ । हार स्वीकार्न अनि जीतका लागि समूहमा लाग्न सक्ने पुस्ताको खाँचो आज विश्वको हरेक कुनामा छ ।
खेलकुद एउटा विश्वब्यापी भाषा हो । यो समाजमा हुने गरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ । खेलकुदले युवा महिला र पुरुष जनसंख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्छ ।
खेलकुद सँधै एउटा शुद्ध खेल मात्र होस् । यसमा राजनीति नहोस् । भारत र पाकिस्तानबीचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरूको आउन लागेको विश्वकपमा प्रतिस्पर्धा हेर्न विश्व उत्सुक हुन्छन् । खेलमा जति सुकै प्रतिद्वन्द्वी भावना भएपनि खेल सकिएपछि खेलाडीहरूले एक अर्कासँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने शैलीले यसको शुद्धता बयान गर्छ । यो सदा कायम होस् । सबैमा अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवसको शुभकामना ।