चितवन- भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल भत्किएको विषयमा जानकारी प्राप्त भएको र कसको लापरवाहीले त्यो भएको हो यथार्थ बुझने काम भइरहेको बताउनुभयो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी सँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । चार बटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ ।
निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेलका अनुसार पुलमा क्रङ्किट स्पानको काम सकिएको अवस्था थियो । उहाँले आफु काठमाडौंमा रहेको दुई वटा स्पान खसेको जानकारी प्राप्त भएको स्वीकार गर्नुभयो ।