काठमाण्डौ – इन्डोनेसिया र तिमोर लेस्तेमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ । बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका जाकार्ताका सरकारी अधिकारीहरुले बताएका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेक देश तिमोर बढी प्रभावित भएको बीबीसीमा उल्लेख छ ।
यस प्रकोपबाट इन्डोनेसियामा १४० र तिमोर लेस्तेमा ३७ जनाको ज्यान गएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । निकायका अनुसार तिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गएको छ । इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराइरहेका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण दर्जनौँ घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ ।
गएको जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीमा परेर कम्तीका ४० व्यक्तिको ज्यान गएको थियो । इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्दै आएका विपद् सम्बन्धित एक अध्ययनले देखाएको छ ।