काठमाडौं – नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए। देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाएका हुन्।
देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ। एक साता अघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि इच्छा देखाएका थिएनन्। तर, अहिले सभापति देउवाले अग्रसरता देखाएका छन्। सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए।
काँग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले आजको बैठकमा सत्ता समीकरणको विषयमा छलफल हुने जानकारी दिए। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो। त्यतिबेला काँग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव केन्द्रीत अभिव्यक्ति दिँदै आएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिएका छन्। तर पछिल्लो पटक ओली सरकार विस्थापन गर्ने विषयमा एकमत बन्दै गएको छ। माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदको पद बिहीबार खारेज ४ जना सांसद निलम्बनको अवस्थामा हुँदा अहिले प्रतिनिधिसभा सदस्यको संख्या २ सय ६७ पुगेको छ। यसअनुसार सरकार बनाउन १३४ सिट आवश्यक पर्छ। काँग्रेसको ६१, माओवादी केन्द्रको ५२ र जनता समाजवादीको ३२ सिट छ। ओली सरकारको विकल्पका लागि तीनै विपक्षी एकजुट हुनुपर्छ।
उता एमालेको १२१ सिट छ। ओली सरकारको निरन्तरताका लागि अब उसलाई १३ सिटमात्र भए पुग्छ। तर, एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको छ। उसले ओली सरकारको निरन्तरता दिन सहयोग गर्छ वा फ्लोर क्रस गर्छ त्यो पनि शंकाकै विषय छ।