Aamsanchar

आशीष स्मृति पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रकार पुरस्कृत

Author Image
बुधवार, वैशाख १, २०७८

इलाम : आशीष स्मृति पत्रकारिता पुरस्कारबाट इलामका दुई क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ इलामले २०७७ सालको पुरस्कारबाट गणेश घिमिरे र २०७८ सालको पुरस्कारबाट सुमन लावतीलाई पुरस्कृत गरेको हो।

इलामका पत्रकार आशीष राईको १९औं स्मृति दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले पुरस्कार प्रदान गरे। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

साविकको मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने उदीयमान एवं क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष वैशाख १ गते प्रदान गरिँदै आएको छ। अघिल्लो वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गरिएको थिएन। त्यसैले यसपटक दुई वर्षको एकैपटक वितरण गरिएको छ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचारपत्र दैनिकका इलाम समाचारदाता एवं रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादक हुन्। त्यस्तै‚ डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील लावती इलामको ग्रामीण क्षेत्र माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङसेबुङका स्टेशन प्रमुख हुन्।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशीष राईको २०५९ साल वैशाख १ मा इलामको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो। सन्दकपुर गाउँपालिका (साविकको सुलुबुङ गाविस-३) इलाममा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आशीष स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। युवा पत्रकार आशीष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो।

यस पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साम्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर