Aamsanchar

झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि ७२ घण्टाका लागि सिल गरियो

Author Image
बिहिवार, वैशाख २, २०७८

काँकडभिट्टा — भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली सीमावर्ती नाका ७२ घण्टा सिल गरिएको बताए । झापाको पूर्वी नाका काँकडभिट्टा र दक्षिणी नाका भद्रपुरको साँधसीमा पश्चिम बंगालसँग जोडिन्छ ।

‘निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नाका सिल गरिएको’ भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । निर्वाचन सम्पन्न भएपछि शनिबार रातिबाट नाका सहज हुने जनाइएको छ । सीमा सिल भएपछि देश फर्किन लागेका भारतीय नागरिक र विभिन्न कामले भारत जान खोज्नेहरू नाकामा अड्किएका छन् । प्रहरीले भारतको मतदाता परिचयपत्र वाहक र विशेष समस्या भएका यात्री भने भारत जान पाउने जनाएको छ ।

भारतपट्टिबाट स्वदेश फर्किने नेपालीलाई पनि भारतीय सुरक्षाकर्मीले रोकेका छैनन् । ‘भारतीय सुरक्षा संयन्त्रले सबैलाई नेपालतिर रोकेर राख्न भनेको छ’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले भने, ‘पठाउनै पर्ने भए भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा मात्रै पठाउँछौं ।’ पश्चिम बंगालमा मार्च २७ देखि २९ अप्रिलसम्म आठ चरणमा चुनाव हुँदै छ । दार्जिलिङमा भने पाँचौं चरणमा शनिबार चुनाव हुँदै छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर