Aamsanchar

५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्ति प्रतिस्थापन

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

ललितपुर –ललितपुरको चापागाउँबाट ५२ वर्षअघि चोरी भएको बज्रबाराही माईको मूर्तिलाई चापागाउँमा नै प्रतिस्थापन गरिएको छ । काठमाण्डौको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको मूर्तिलाई हिजो सोमवार सिन्दुर जात्रा गरेर चापागाउँ बसपार्कमा रहेको आगँछेय्मा प्रतिस्थापन गरिएको हो।

गोदावरी नगरपालिका र बज्रबाराही खः गुठीको संयुक्त प्रयासमा मूर्तिलाई आफ्नै ठाउँमा प्रतिस्थापन गरिएको हो । ​

२०२५ सालमा बज्रबाराही माईको मूर्ति आगछेँय्बाट चोरी भएको र पछि त्रिभुवन विमानस्थलमा फालिरहेको अवस्थामा भेटिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताउनु भयो। उहाँका अनुसार मूर्तिलाई विदेश लैजान नसकेपछि त्यही नै फालेको अनुमान छ। यसरी चोरीपछि फेला परेको मूर्तिको सुरक्षाको ग्यारेन्टी भएको खण्डमा मात्रै मौलिक ठाउँमा नै प्रतिस्थापन गरिने व्यवस्था भएकोले चोरी भइसकेको मूर्ति फेरि पनि चोरी होला भन्ने आशङ्कामा सुरक्षाको लागि बज्रबाराही माईको मूर्तिलाई २०२९ सालमा राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा राखिएको थियो।

कानुनी प्रक्रिया पूरा गरेर पुरातत्व विभागको निर्णय अनुसार गोदावरी नगरपालिकाका मेयर, उपमे​यर, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि र स्थानीय खः गुठीयारका गुठीयारहरूको उपस्थितिमा हिजो सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले खः गुठीलाई मूर्ति विधिवत रुपमा हस्तान्तरण गर्नु भएको हो। आउँदो वैशाख १३ गते चैत शुक्ल पूर्णिमाको अवसरमा बज्रबाराही माईको जात्रा गरिने परम्परा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर