Aamsanchar

झापाको मेचिनगर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालय बन्द गर्ने सम्बन्धी गरे यस्तो निर्णय

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

 

मेचीनगरपालिमा वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित 

झापा- मेचीनगरपालिमा वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । सरकारको निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले मंगलबार सूचना जारी गरी पठनपाठन बन्द गर्न निर्देशन गरेका हुन् ।

शिक्षकका पेशागत संस्था, निजी विद्यालयका प्रतिनिधिहरुसँग भएको छलफलबाट मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा २०७८ वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाई वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्न सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सूचनामा २०७७ सालको वार्षिक परीक्षा गर्ने व्यवस्थाका लागि पाठयवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० वाहेकका परीक्षाका लगि तयारी अवस्थामा रहन सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

बिर्तामोड नगरका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १९ गते सम्मका लागि बन्द :

झापाको बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १९ गते सम्मका लागि बन्द भएका छन् । सरोकारवालाहरूको आज बिर्तामोड नगरपालिकामा बसेको बैठकले सो निर्णय गरेको हो ।सरकारको निर्देशनपछि आज बसेको सरोकारवालाको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो । बैठकले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्व निर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताए । उनले विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने जानकारी दिए । 

दमकनगरका  बिद्यालय बैशाख १४ सम्म बन्द:
सरकारले निर्णय बिपरित आज मङलबार दमकका बिद्यालयहरु खुलेपछि स्थानीय सरकारले बैशाख १४ सम्म बिद्यालय नखोल्न भनेको छ । नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर गरि आज जारी गरिएको सुचनामा त्यस्तो उल्लेख गरिएको हो । 

सरकारको निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहित काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ वैशाख मसान्तसम्म भर्चुअल रुपमा सञ्चालन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 622

प्रतिक्रिया (०)