Aamsanchar

पाथीभरा मन्दिर दर्शनका लागि एकै दिन पुगे ८ हजार भक्तजन

Author Image
बुधवार, वैशाख ८, २०७८

ताप्लेजुङ — पाथीभरा मन्दिर दर्शनका लागि मंगलबार ८ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार मंगलबार बिहान २ बजेदेखि दिउँसो २ बजेसम्म २१ जिल्लाका ८ हजार ५५ जनाले मन्दिर दर्शन गरेका छन् ।

३७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि जाने भक्तजनको मन्दिरभन्दा साढे २ किलोमिटर वरै लगत राख्ने व्यवस्था छ । ‘रामनवमीका बेला पहिला पनि ठूलै संख्यामा तीर्थयात्री आउँथे,’ काफ्लेले भने, ‘यो वर्ष पनि राम्रै संख्यामा आएको पाइयो ।’ यो वर्षको रामनवमी बुधबार परेको छ ।

यस दिन पनि हजारौंको संख्यामा भक्तजन आउन सक्ने माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराई बताउँछन् । उनका अनुसार माथिल्लो फेदी, काफ्लेपार्टीका सबै होटल मंगलबार दिउँसै भरिएका छन् । सामान्यतया दर्शनार्थी चैतेदसैंका दिन सदरमुकाम फुङलिङ, सुकेटार, काफ्लेपार्टी र फेदीमा पुगेर बस्ने र रामनवमीका दिन पूजा गरेर फर्कने गर्छन् । मन्दिर दर्शनमा स्वास्थ्य मापदण्ड पालना गराइएको समिति कर्मचारी राजेन्द्र महतले दाबी गरे । सानो समूह बनाएर एकपछि अर्को गर्दै पूजाको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

२ वर्षअघि रामनवमीको दिन १३ हजार तीर्थयात्रीले पाथीभरा दर्शन गरेका माथिल्लो फेदी अस्थायी प्रहरी चौकीको तथ्यांकमा उल्लेख छ । गत वर्ष यो संख्या ३ हजार २ सयमात्रै थियो । कोरोना महामारी सुरु भएकाले गत वर्ष थोरै भक्तजनमात्रै आएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 423

प्रतिक्रिया (०)

सम्बन्धित खबर