Aamsanchar

तन्त्रमन्त्रबाट सुन पाउने लोभमा तीन महिना भारतमा बन्धक बनेकी विराटनगरकी एक युवतीको उद्धार

Author Image
बुधवार, वैशाख ८, २०७८

विराटनगर- अभिभावकले तन्त्रमन्त्रबाट सुन पाउने लोभ गर्दा विराटनगरकी एक युवती तीन महिना भारतमा बन्धक बनेकी छन् । मसानले जमिनमुनि लुकाएको सुन निकाल्न भन्दै आफूलाई तान्त्रिक बताउने युवकसँग सातवटा खोलाको पानी लिन गएकी युवतीको तीन महिनापछि उद्धार भएको हो । विशेष सूचनाका आधारमा पश्चिम कञ्चनपुर हुँदै भारत पुगेको प्रहरीले युवतीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार युवतीलाई पञ्जाबसम्म पुर्‍याइएको थियो ।

गत माघ १० गते आफूलाई तान्त्रिक बताउने विराटनगर महानगरपालिका– १९ का २५ वर्षीय दिनेश मण्डलले विराटनगर–४ इक्राहीकी २४ वर्षीया युवतीलाई लिएर गएका थिए । माघ २ गते युवतीको घर पुगेका उनले युवतीको घर आसपासको जमिनमा मसानले सुन लुकाएको दाबी गर्दै पूजापाठ गरेका थिए । आफूसँग भएको सुन देखाउँदै उनले मसानले लुकाएको थप सुन निकाल्न विवाह नगरेकी युवतीले सातवटा खोलाबाट पानी ल्याएर पूजा गर्नुपर्ने बताएका थिए ।

१० माघमा उनले नै युवतीलाई सातवटा नदीको पानी ल्याउने भन्दै लिएर गएका थिए । छोरी लिएर गएका युवक नफर्किएपछि आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । माघ २२ गते पत्रकार सम्मेलन गरी छोरी खोजिदिन आग्रह पनि गरे । तीन महिनाको प्रयासपछि युवतीलाई कञ्चनपुरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उद्दारका लागि डीएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोली खटिएको थियो ।

प्रहरीले आफूलाई तान्त्रिक बताउने युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उद्धार गरिएकी किशोरी मानसिक रुपमा विछिप्त छिन् । सुन देखाएपछि धन कमाउने आशमा आफन्तले छोरीलाई तान्त्रिक बताउने युवकको साथमा पठाएका थिए । प्रहरी उपरीक्षक खड्काका अनुसार ५० हजार रुपैयाँमा सुन किनेर ती युवकले युवतीको घर नजिकैको जमिनमुनि गाडेर पछि निकालेका थिए ।

प्रहरीले मण्डललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनले विराटनगरमा अरुलाई पनि ठगी गरेको गुनासो प्रहरीसमक्ष पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर