Aamsanchar

सरकारी कार्यालयका सेवाग्राहीलाई मध्यनजर गर्दै भद्रपुरमा सार्वजनिक शौचालयको शिलान्यास

Author Image
बुधवार, वैशाख ८, २०७८

भद्रपुर- सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गरी झापाको सदरमुकाम भद्रपुरमा सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अस्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा सार्वजनिक शौचालय बन्ने लागेको हो ।

भद्रपुर ८ स्थित नेपाल टेलिकम शाखा कार्यालय चन्द्रगढीसँगै रहेको महेन्द्र पार्क परिसरभित्र निर्माण गर्न लागिएको शौचालयको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र रोटरी क्लबका अध्यक्ष आदित्य पराजुलीले संयुक्त रुपमा शौचालयको शिलान्यास गरेका हुन् । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि सार्वजनिक शौचालय नहुँदा समस्या थियो ।

त्यसैलाई लक्षित गरी १५ लाख लागतमा शौचालय निर्माण गर्न लागेको रोटरी क्लबका अध्यक्ष पराजुलीले बताए । दुई महिनाभित्र निर्माण सम्पन्न हुने शौचालयमा ६ वटा बाथरुम र ४ वटा युरिन सहितको महिला तथा पुरुषको छुट्टा–छुट्टै कोठा हुने उनले बताए । शौचालय निर्माण पश्चात् त्यसको व्यवस्थापनको जिम्मा भद्रपुर नगरपालिकालाई दिने उनको भनाई छ । यता नगरपालिकाका मेयर श्रेष्ठले शौचालय निर्माणपछि सदरमुकाम आउने नागरिकलाई थप सहज हुने बताए । शौचालय निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले आश्वासन दिए ।

आदित्य पराजुलीको अध्यक्षता भएको कार्यक्रमको औचित्यमाथि नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश न १ का अध्यक्ष तथा रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष टिकाराज ढकालले प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव ईश्वर अधिकारीले गरेका थिए । कार्यक्रममा झापाली समाज अस्ट्रेलियाकी महिला को–अर्डिनेटर सोनु पुडासैनी , भद्रपुर वडा नम्बर ८ का वडा अध्यक्ष गौरव सुब्बा मनोज लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा भद्रपुर १० नम्बर वडा अध्यक्ष टेकबहादुर खडका, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, उद्योगी चण्डी पराजुली, नगरपालिका इन्जिनियर योगेन्द्र रञ्जितकार, झापाली समाज अस्ट्रेलियाका सदस्य कर्ण राजवंशी लगायतको उपस्थिति रहेको थियो ।त्यसै गरी रोटरी क्लबले छिट्टै भद्रपुरको सगरमाथा चोकमा १५ लाख लागतमा घण्टा घर निर्माण गर्न लागेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर