Aamsanchar

चितवनको माडी अयोध्यापूरीमा राम-सीताको मूर्ति राखियो

Author Image
बुधवार, वैशाख ८, २०७८

चितवन- चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र रहेको सो स्थानमा १६ लाखको लागतमा मूर्ति राख्न मन्दिर निर्माण गरिएको थियो ।

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राख्ने योजना रहेको अयोध्याधाम प्रचारसमितिका संयोजक श्री दवाडीले जानकारी दिए । मूर्तिलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले जल अभिषेक गरिएको थियो । कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, प्रदेश नं। २ का प्रमुख राजेश अहिराज, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल, चितवन निर्वाचन क्षेत्र नं। २ का सांसद कृष्णभक्त पोखरेलसहितको उपस्थितिमा मन्दिरमा मूर्तिको राखिएको हो । कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले माडीको अध्योयापूरीमा भगवान रामको जन्म भएको यथेष्ट प्रमाण भएको बताए ।

रामधामको गुरुयोजना बनाएर थप भौतिक पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । माडीका सुकुम्वासीको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेकोले विषयलाई धेरै नछाल्न उनले आग्रह गरे। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अयोध्याधामको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए ।

मूर्तिसहितको रथयात्रा टोली दिउँसो ३ बजे माडी आइपुगेको थियो । माडी नगर क्षेत्रका विभिन्न स्थानमा स्थानीय समुदायले घर घर अगाडि घडा राखेर ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न थारु संस्कृती झल्कने झाँकीहरुको प्रर्दशन गरिएको थियो । मंगलवार विहान प्रधानमन्त्री केपी ओलीले पूजाआजा गरेर बालुवाटारबाट विदाइ गरेका थिए । रथ यात्रासहित ल्याइएका मूर्तिलाई आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेक गरेर देवघाटबाट बिदाइ गरिएको थियो ।

चितवनको दासढुंगा नारायणगढ, चौविसकोठी, विकास चोक, पटिहानी हुँदै रथयात्राको टोली माडी आएको थियो । रथयात्रामा सयौं मानिसहरु सहभागी भएका छन् । पर्साको ठोरी, भरतपुर लगायतका ठाँउबाट ठूलो संख्यामा मानिसहरु माडी आएका छन् ।

गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर