Aamsanchar

मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका २ युवकको मृत्यु,आफन्तद्वारा अस्पताल तोडफोड

Author Image
आइतवार, वैशाख १२, २०७८

जनकपुर –धनुषामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार आज दिउँसो धनुषामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीय युवक २० वर्षीय भोला महतो र स्थानीय २६ वर्षीय सुनिल शर्मा रहेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए। मिथिला नगरपालिका–८ कुसुमविसौनामा प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किण्एर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन्। दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्काको जानकी हेल्थकेयरमा पुर्‍याएपछि डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ। दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतो समेत गम्भीर घाइते भएका इप्रका ढल्केबरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ। दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

जानकी हेल्थ केयर हस्पिटल तोडफोड

घाइते २६ वर्षीय सुनील शर्माको मृत्युको विषयलाई लिएर तिनका आफन्तले जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड गरेका छन्। घाइते शर्मालाई अस्पतालमा पुर्‍याएपछि चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेका थिए। चिकित्सकले सल्लाहअनुसार परिवारजनले काठमाडौं लैजान हेलिकप्टर मगाएका थिए। तर त्यहीबेला चिकित्सकले शर्माको मृत्यु भएको जानकारी दिएपछि उड्न लागेको हेलिकप्टर रोकेको मृतकका काका जयप्रकाश ठाकुरले बताए।

ठाकुरको अनुसार त्यतिबेलासम्म शर्माको मृत्यु भएको थिएन तर डाक्टरको लापरबाहीले समयमा राम्रो उपचार नपाएर मृत्यु भएको आरोप छ। उनले भने, ‘यहाँको अस्पतालमा राम्रोसँग प्राथमिक उपचार गरेको भए हेलिकप्टर आइपुग्थ्यो र यतिबेलासम्म काठमाडौं पुर्‍याइसकिन्थ्यो। मेरो भतिजको मृत्यु चिकित्सकको लापरवाहीले भयो, यसको छानबिन हुनुपर्छ।’

सुनीलको मृत्युपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्ष सहित विभिन्न ठाउँको झ्यालको सिसामा तोडफोड गरेको छ। तोडफोडपछि अस्पतालको मूल गेटमा ताला लगाइएको छ भने बाहिर सुरक्षाकर्मी परिचालन गरी सुरक्षा दिइरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर