Aamsanchar

देशभरका विद्यालयका पूर्व निर्धारित सबै परीक्षा स्थगित, त्रिविले भने नरोक्ने

Author Image
आइतवार, वैशाख १२, २०७८

काठमाडौं – सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए । कोरोना भाइरस(कोभिड-१९) को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो ।

तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

सीसीएमसीका सिफारिस केके छन् ?

बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । ट्रान्सजिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ ।

यता

त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा स्थगित नभएको जानकारी दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठकले मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा भोलिदेखि नै स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय लिए पनि त्रिविले सोमबारका लागि तय भएका परीक्षा जारी रहने जनाएको हो । त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षा यथावत रहेको जानकारी दिए । ‘स्नातक दोस्रो वर्षको परीक्षा चलिरहेको छ । भोलिका लागि तय भएको परीक्षा थयावत छ । बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हामीले रोक्न सक्दैनौं,’ उनले भने, ‘आज म्यानेजमेन्टको सकियो । भोलि बिएड, बिएस्सी र बीएको परीक्षा छ ।’

कोरोना संक्रमणलाई ध्यानमा राखेर दिनमा दुई सिफ्टमा परीक्षा लिइरहेको जोशीले बताए । सीसीएमसीले सिफारिस गरेको समाचार आएपछि त्रिविका पदाधिकारीबीच सल्लाह गरेर नै सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय लिइएको उनले बताए । ‘सीसीएमसीबाट हामीलाई कुनै जानकारी आएको छैन । परीक्षा स्थगित गर्न सिफारिस गर्‍यो भन्ने बित्तिकै हामी अलर्ट भयौं । हाम्रो बोर्ड बैठक बस्छ भोलि र त्यसपछि के गर्ने भन्ने सल्लाह गरौंला भन्ने भएको छ,’ उनले भने । परीक्षा बोर्डका अध्यक्ष, रजिष्टार र परीक्षा नियन्त्रकबीच छलफलपछि सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।

स्नातक दोस्रो वर्षको परीक्षा वैशाख १७ गते सकिने र त्यतिबेलासम्म सञ्चालन गर्न पाएमा रिजल्टको तयारी गर्न सकिन्थ्यो भन्नेमा त्रिवि रहेको उनले जानकारी दिए । विद्यार्थीले पनि परीक्षा सञ्चालन गरिदिए हुन्थ्यो भनिरहेको उनको भनाइ थियो ।

नेपालगन्जमा सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा पनि स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको जोशीले जानकारी दिए । निशेधाज्ञा लागेमा के गर्ने भन्ने निर्णय लिने र सोमबारका लागि तय भएको परीक्षा भने यथावत रहने उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर