Aamsanchar

झापाका १ सहित पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जना कोरोना सङ्क्रमितको मृत्यु

Author Image
बिहिवार, वैशाख १६, २०७८

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको  मृत्यु भएको छ मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति बजेतिर मृत्यु भएको हो । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केहि दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोसी कोभिड अस्पताल लगेका थिए। त्यस्तै, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको उनको भनाइ छ । बुधबार साँझबाट सङ्क्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको जानकारी राजवंशीले दिए ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ । सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार प्रतिष्ठानमा बैशाख १० गते भर्ना गरिएको ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा हिजो बिहान मात्र उनलाई संक्रमण पुष्टि भएको थियो ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर