काठमाण्डौ – राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्कघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँलाई मष्तिष्कघात भइ उपचारका लागि सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीमा रहेको आफ्नै निवासमा बस्दै आउनुभएको थियो । अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । प्राध्यापनपछि उहाँ राष्ट्रियसभाका सदस्य बन्नुभएको हो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नुभएको थियो।