स्वतन्त्रता मुटु अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस
सन् २०२१ मा विश्व कोरोना त्रासले आक्रान्त छ । अघिल्लो वर्ष पनि यो समय यस्तै सन्त्रासमा थियो । यो वर्ष पनि त्यसमा फेरबदल आएको छैन । यद्यपि विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ ।
समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभरि ‘भर्चुअल’ कार्यक्रमबीच यो दिवस मनाइँदैछ । आउनुहोस् यसै पेरिफेरिमा वात मारौं ।
हुन त, हरेक वर्ष नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं र मुलुकका अन्य शहरमा मे–३ को दिन प्रभातफेरि कार्यक्रम हुन्थ्यो । त्यसअतिरिक्त दिउँसो पनि पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना गरिन्थ्यो । तर यो वर्ष कोभिड–१९ कहरकै बीचमा प्रेस स्वतन्त्रता दिवस परेको छ । चारैतिर संक्रमणको डर छ । भौतिक दूरी कायम राख्नुपर्ने अवस्था छ । सँगै सरकारी निषेधाज्ञाका कारण पनि भेला हुन सक्ने स्थिति छैन ।
राज्यको चौथो अगंको कुरा गरौँ आज । प्रेस अर्थात् सञ्चार माध्यमका कुरा गरौँ । अनि तिनका स्वतन्त्रताका सवालहरूबारे बहस गरौं ।
हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै मनाइन्छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।
सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमामै धक्का पुग्छ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत भइरहे पनि आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरूमा प्रेसमाथि सेन्सरसीप नियमित गरिन्छ । सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । आजको दिनले सामान्य जनताहरूलाई अनि संसारवासी हामीहरूलाई प्रेस स्वतन्त्रताबारे जानकारी अनि महत्व बुझाउने सर्वब्यापी चेष्टा गर्छ । यसका साथै आजको दिनले संसारभरिका सञ्चारकर्मीहरूलाई प्रेस तठस्थ रहनुपर्ने पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।
पछिल्लो दशकमा लोकतन्त्रको पुर्नआगमनसँगै नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह बडो गज्जबले बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना तानेपछि समात्ने नेपाली तरङ्ग आकाशमा आज सैयाँ को संख्यामा रेडियो केन्द्रहरू छन् । त्यसैगरी टीभी, पत्रिका, अनलाइन गरी विभिन्न स्वरूपमा धेरै सञ्चार केन्द्रहरू स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो । तथापि हरेक विकासँगै आउने चुनौतिहरूझैँ प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरू नेपालमा कतिको सम्बोधन अनि समाहित गर्न सकिएको छ त ? विचारयोग्य प्रश्न हो । आजको दिनले मनन गर्न झक्झक्याउने पनि छ ।
यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतिनिधिहरू भेला भएर युनेस्को गुईलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधि प्रदान गरिनेछ ।
आज संसारभरिका अधिकांश राष्ट्रका प्रेस काउन्सिलहरूले विज्ञप्ती जारी गर्ने चलन पनि छ । स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ । पाठक-स्रोता, दर्शकलाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक पत्रकारिता तथा सूचना आवश्यकता छ ।
हरेक किसिमको स्वतन्त्रताको कसी या मुटु चाहिँ प्रेस स्वतन्त्रतालाई मानिन्छ । अर्थात्, कुनै मुलुक कति स्वतन्त्र छ भनी मापन गर्ने काम प्रेस स्वतन्त्रताबाटै हुन्छ । जहाँ प्रेस स्वतन्त्रता प्रत्याभूत हुँदैन, त्यहाँ नागरिकका अन्य प्रकृति स्वतन्त्रता कुण्ठित हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसकारण पनि समाजको खुलापन र लोकतान्त्रिक पद्धति स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य तत्व ठानिन्छ ।
हुन पनि संविधानसभा निर्मित संविधानमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । अर्थात्, संवैधानिक हिसाबले प्रेस स्वतन्त्रता दरिलोसँग स्थापित छ । तर, शासकीय व्यवहार चाहिँ नियन्त्रणमुखी छन् । हामी कहाँ बेलाबखत अनेकन नियन्त्रण निम्ति अनेकन विधेयक प्रस्तुत गर्ने प्रयत्न भइरहेकै छन् । कानुन संशोधनका नाममा बीचमा नागरिक तथा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयत्न भइरहेकै छ, संविधानमाथि कानुन भएको अनौठो शैली प्रदर्शन गर्दै ।
त्यसो त, स्वतन्त्रता अर्थ छाडापन कदापि होइन । प्रेसले पनि मर्यादाका सीमाभित्र रहनुपर्छ ।
२०४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्वन्द्व या २०६२-०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू दिन धेरै जना पत्रकारले पसिना बगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्यान नै गुमाउनुसम्म भएको छ । चाहे नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा हुन् या अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथिको आक्रमणले स्वतन्त्रता र लोकतन्त्रमाथि नै धावा बोलेको छ । विमान दुर्घटनामा विट ठाउँमा पर्दा राति–राति पत्रकार पनि प्रहरी अनि बचाव दलसँग टर्च लाइट बाल्दै पुगेको हुन्छ र मात्र भोलि पत्रिकाको हेडलाइनमा हामीले पढ्न पाउँछौ ।
टिभीमा देख्न अनि रेडियोमा सुन्न पाउँछौ । खबरहरू, यस्ता धेरै उदहारणहरू अनि साहसिक कार्यहरू नेपाली पत्रकारहरूले गर्नुभएको छ र गर्नुहुन्छ ।
सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै बाजी थाप्न पनि नपर्ने यी पेशाकर्मीलाई हार्दिक नमन । अनि भविष्यमा पनि प्रेसलाई राजनीति अनि अन्य ब्यवसायको अखडा बनाउने सुनियोजित कार्य नहोस् । नेपालीहरूको चाहना यही हो । समाचार र सूचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता हाम्रो दायित्व पनि हो । प्रेस स्वतन्त्रता दिवसका अवसरमा पाठक अनि लेखक, दर्शक अनि प्रस्तुतकर्ता, श्रोता र वाचक सबैलाई शुभकामना ।