Aamsanchar

महोत्तरीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका एकै गाउँका ३१ जना संक्रमित

Author Image
सोमवार, वैशाख २०, २०७८

जनकपुरधाम- महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु भएको मानिसको मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मलामी गएका महोत्तरीको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको थियो । उनको मलामीमा गएका ७० जनामध्ये ४५ जनाले पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बुधबारदेखि निषेधाज्ञा

कोरोना संक्रमित बढ्दै गएपछि बुधबारदेखि महोत्तरीमा जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको छ। प्रशासनले वैशाख २२ गते बुधबार विहान ६ बजेदेखि ३१ गते शुक्रबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर अत्यधिक बढेको र केही संक्रमितको मृत्युसमेत भएकोले संक्रमण न्यूनिकरण तथा रोकथाम गर्न निषेधाज्ञा लगाइएको महोत्तरीको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै पालिकाहरुले आ–आफ्नो बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम २०–२० थान खरिद गरी व्यवस्थापन गर्ने तथा थप सिलिण्डर व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायत सञ्चालन गर्न रोक लगाइएको छ।

विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भइ स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ।

निषेधाज्ञा अवधिमा मालबाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत दुवानीका सवारीसाधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त ९पास० को व्यवस्था गरिएको छ । सवारीसाधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारीसाधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर