झापा – जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लङ्घन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाँईले् बताए । उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा सवारीसाधन नियन्त्रण लिएको हो ।
बिर्तामोड, भद्रपुर, चन्द्रगढी, मेचीनगर, धुलाबारी, बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, चाराआली, गौरीगञ्ज, गौरदाहबाट सो सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चापागाईँले बताए । जोर बिजोर प्रणाली अनुसार आज जोर नम्बरका सवारीसाधन चलाउनु पर्नेमा त्यसको उल्लङ्घन गर्दै बिजोर नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाई छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित धनीलाई चेतावनी दिँदै बुझाउने कार्य भइरहेको उनले बताए ।
बजार पसल बन्द, सरकारी कार्यालय सुनसान
जिल्लामा सञ्चालित औषधि, होटेल, रेष्टेरेन्टबाहेक अन्य पसल बिहान ६ बजेबाट ११ बजे सम्म मात्र खुलेका थिए । ११ बजेपछि झापा प्रहरीले बजार तथा पसल बन्द गराउँदै हिँडेका थिए ।
जिल्लामा निषेधाज्ञा जारी भएपछि जिल्लाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही न्यून देखिएका थिए । जसले गर्दा झापाको सदरमुकाम भद्रपुर सुनसान जस्तै थियो । सरकारी कार्यालयमा अत्यावश्यक कामबाहेकका अन्य सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । ‘कार्यालयले सेवा बन्द गरेपछि सदरमुकाममा सेवाग्राहीको चहलपहल घटेको हो, उनले भने ।’