Aamsanchar

वडा सदस्यलाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै मृत्यु

Author Image
शुक्रवार, वैशाख २४, २०७८

बुटवल – अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो ।

नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो ।

‘तीन वटै अस्पताल पुर्‍यायौं । तर कतै पनि बेड पाएनौ‌,’ भट्टराईले भने, ‘अन्ततः उहाँको एम्बुलेन्समै उहाँको निधन भयो ।’ उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए । स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर