Aamsanchar

बलात्कृत किशोरी सुत्केरी भएको ३ महिनापछि आरोपित अवकाश प्राप्त नेपाली सेना पक्राउ

Author Image
शुक्रवार, वैशाख २४, २०७८

गोरखा : गत वैशाख ११ गते घरनजिकैको वनमा निहुरो (तरकारी) खोज्न गएकी १४ वर्षीया पुतली (नाम परिवर्तन) बलात्कृत भइन्। गोरखा नगरपालिका–८ का ६० वर्षीय तुलबहादुर थापाले विभिन्न प्रलोभनमा पारेर नजिकैको गाईगोरु बाँध्ने गोठमा लगी करणी गरे। उनी अवकाश प्राप्त नेपाली सेना हुन्। कक्षा ७ मा अध्ययनरत उनी लकडाउनको समयमा घरनजिकै वनमा तरकारी खोज्न गएकी  थिइन्। घटनाबारे अरू कसैलाई भने ज्यान मार्ने धम्की दिए। ज्यान जाने डरले ६ महिनासम्म बालिकाले घटनालाई रहस्यको गर्भमा नै राखिन्। तर, उनले रहस्यको गर्भमा राखेको कुरा बलत्कारपछि उनको गर्भमा हुर्किरहेको बच्चाले ७ महिना नबित्दै बाहिर ल्याइदियो।

बलत्कारपछि गर्भवती भएकी पुतलीको दैनिक मोटोपन बढ्दै गयो। उनको अस्वाभाविक मोटाइ देखेर परिवारका सदस्यले शंका गरे। उनको स्वास्थ्य परीक्षण गरियो। अनि बाहिरियो घटना

स्वास्थ्य परीक्षणको रिपोर्टले पुतली गर्भवती भएको देखायो। परिवारका सदस्यले सोधखोज गरे। अनि पीडित बालिकाले महिनौँ देखि डरका कारण लुकाएर राखेको घटना सुनाइन्। घटना भएको ६ महिनापछि बालिकाका आफन्तले गत कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा जबरजस्ती करणीविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गराए।

उजुरी परेपछि प्रहरीले अनुसन्धानको क्रममा पीडितको जिल्ला अस्पताल गोरखामा विस्तृत स्वास्थ्य परीक्षण गरायो। स्वास्थ्य परीक्षणपछि डाक्टरले पीडितको पेटमा ३० हप्ताको गर्भ रहेकाले गर्भपतन गराउन नमिल्ने जानकारी दिए। त्यसपछि आफन्तको सल्लाहमा प्रहरीले सेल्टर तथा थप उपचारको लागि उनलाई थ्री एन्जल्स नेपाल पोखरामा रिफर गर्‍यो।

पीडित पक्षले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि आरोपित फरार भए।  उजुरी दर्ता भएको महिनौँ बित्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेन। अन्तत: गत माघ ३० गते पुतलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा छोरा जन्माइन्।

सुत्केरी भएको तीन महिनापछि पक्राउ परे आरोपित

उजुरी परेदेखि फरार रहेका थापालाई प्रहरी बिहीबार पक्राउ गरेको छ। उनलाई गोरखाकै मझुवा देउरालीबाट दिउँसो  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिए। पीडित बालिका सुत्केरी भएको तीन महिनापछि आरोपित पक्राउ परेका हुन्।

‘आरोपितलाई पक्राउ गरेर कोरोना परीक्षणका लागि स्बाब संकलन गरेर बुंकोट प्रहरी चौकीको हिरासतमा लगिएको छ। उनलाई भोलि पनि जिल्ला अदालत उपस्थित गराइनेछ’, डिएसपी दाहालले भने।

प्रहरीले गरेको अनुसन्धान रिपोर्टको सहयोगमा तयार पारिएको।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर