Aamsanchar

कोभिड १९ को नयाँ भेरियन्टको भाइरस झनै खतरा

Author Image
बुधवार, वैशाख २९, २०७८

झापा।  झापा जिल्लामा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार पहिलो लहरको कोभिड १९ भन्दा अहिले नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या झण्डै ८० देखि ९० प्रतिशतले बढ्ने गरेको छ ।

अस्पतालमा कोभिड १९ का विरामीको चाप थेग्नै नसक्ने गरी बढ्नुका साथै उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा झनै समस्या देखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताउनुभयो । अहिले अस्पतालमा कोभिड वार्डको क्षमताभन्दा संक्रमितको दर बढीरहेको छ ।

यसले गर्दा वेडको समेत समस्या हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ, भने १ सय २१ जना संक्रमित थपिएका छन् । कार्यालयका फोकल पर्सन जीवन चौलागाईका अनुसार अनुसार मंगलबार ३८ महिला र ८३ पुरुषगरी सहित १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गौरादह–२ का ५५ वर्षीय पुरुष, दमक–६ का ५५ वर्षीया महिला र अर्जुनधाराका ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयको भनाई छ । यता मंगलबार राति ८ बजेतिर झापा मेचीनगर— १० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय एक पुरुषको पुर्णटुङ्ग विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको छ । दुवै शव अस्पतालमा राखिएको भएपनि सम्बन्धित पक्षले यसलाई पुष्टि गर्न बाकी रहेकाले तथ्याङ्कमा नराखेको जनाएको छ ।

कोभिड १९ (कोरोना) को नयाँ भेरियन्ट शुरु भएयता जिल्लामा २९ जनाको मृत्यु भएको छ । यसअघि कोभिड १९ का कारण जिल्लामा १ सय २९ जनाको मृत्यु भएको फोकल पर्सन चौलागाईले बताउनुभयो । यो सँगै झापामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ सय ५८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा ४ जना पुरुष, बिर्तामोडमा ७ महिलासहित ११ जना, मेचीनगरमा ५ महिलासहित १९ जना, भद्रपुरमा १८ महिलासहित ६० जना, हल्दिबारीमा २ महिलासहित ३ जना, अर्जुनधारामा १ महिलासहित ३ जना, बुद्वशान्तिमा ३ महिलासहित ११ जना, कचनकवलमा १ महिलासहित ७ जना जना, कमलमा १ महिलासहित २ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको चौलागाईँको भनाई छ । योसँगै झापामा संक्रमितको संख्या ६ हजार ६ सय ६७, डिस्चार्ज ४ हजार ६ सय ७४, आइसोलेसनमा १ हजार ८ सय ३९ जना, कुल संक्रमित एन्टिजेन २ सय ५९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरले कोभिड १९ संक्रमितका लागि नवनिर्मित भवनमा ७५ वटा बेड राखेको छ । जसमध्ये २५ वटामा अक्सिजन र ६ वटामा अक्सिजन कन्सनट्रेटरको व्यवस्था मिलाएको छ । अस्पतालमा कोभिड १९ को क्रिटिकल विरामी आए पछि पुरानो भवनमा २५ वेड थपेर एचडीयूको व्यवस्था गरेर सवैमा अक्सिजनको व्यवस्था मिलाईएको छ । ‘तर, पनि झापामा कोरोना बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ठाकुरले भन्नुभयो—‘हामीले यस विषयमा संघीय र प्रदेश स्थानीय सरकारलाई जानकारी गराएका छौं ।’ जनशक्ति अभावका कारण स्वास्थयकर्मीले चौबीसै घण्टा डियूटी गर्नुपरेको छ । ज्वरो मापनदेखि अक्सिजन लेभसम्मको निगरानी गरिरहनुपर्छ, आईसियू र भेन्टिलेटरका बिरामीलाई त झन धेरै केयर गर्नुपर्ने चिकित्सकको भनाई छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि भद्रपुर नगरपालिकाले सहयोग गर्ने निर्णय प्रतिवद्घता जनाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.ठाकुरले जानकारी दिनुभयो । ‘अस्पतालमा जनशक्ति अभाव भएपछि नगरपालिकाले दुई मेडिकल अफिसर सहित पाँच स्वास्थ्यकर्मीको व्यवस्था गरिदिने आश्वसन दिएको छ ’सुपरिन्टेन्डेन्ट डाक्टर ठाकुरले भन्नुभयो—‘ अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएको थियो । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ का सक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो । मेची अस्पतालमा रहेको ७५ शैयाको कोभिड उपचार केन्द्रमा सेवा दिने गरी थप जनशक्ति भद्रपुर नगरपालिकाले उपलब्ध गराउने भएको छ ।’

अहिले कोभिड शुरु अवस्थाको जस्तो नभएकाले यसबाट आफै बच्न जरुरी रहेको चिकित्सकहरुको भनाई छ । ‘अहिलेको कोभिड झनै खतरा छ’ सुपरिन्टेन्डेन्ट डाक्टर ठाकुरले भन्नुभयो—‘ आफै सचेत नहुँने हो भने जतिबेला जहाँ जो पनि संक्रमित हुन सक्छ । ’ मेची प्रादेशिक अस्पतालमा दुईचिकितसकसहित सातजना स्वास्थ्यकर्मी संक्रमित भईसकेका छन् । जिल्लामा संक्रमितको संख्यामा वृद्धि भएसँगै झापामा निषेधाज्ञा जारी गरिएको बताउँदै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)