Aamsanchar

मोरङमा कोरोना संक्रमित थप नौ जनाको मृत्यु

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

विराटनगर :कोरोना भाइरस संक्रमित थप नौ जनाको मोरङमा मृत्यु भएको छ। सात जनाको शुक्रबार बिहान र दुई जनाको बिहीबारसाँझ ज्यान गएको हो। मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र नोबेल शिक्षण अस्पतालमा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक वृद्धा महिला र तीन जना वृद्ध पुरुष पनि छन्।

नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ६:३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएपनि होम आइसोलेसनमै रहेकी उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा समस्या थपिएपछि बिहान अस्पताल लगिएको हो। उपचारका लागि ल्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए।

सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। दाहालका अनुसार कोरोना भएको यकिन भएपछि उनलाई गत वैशाख २२ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। दाहालले उपचारकै क्रममा बिहानका राति २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए।

धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर मृत्यु भएको छ। उपचारकै क्रममा मृत्यु भएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको दाहालले बताए। कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ। महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५: ३० बजेतिर मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा यसअघि नै कोरोना पुष्टि भएका उनलाई उपचारका लागि बिहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो। उपचार थालिएको साढे चार घण्टा पनि बित्न नपाउँदै संक्रमित वृद्धको मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ।

विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान १२स्३० बजेतिर मृत्यु भएको छ। मृतक महिला अधिकारका क्षेत्रमा कार्यरत ओरेक नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरी भनिने लालबहादुर विश्वकर्मा हुन्। पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो। विश्वकर्माको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए।

उनका अनुसार विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर मृत्यु भएको छ। कोरोना संक्रमित पुरुषलाई उपचारका लागि वैशाख २४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो। कोसी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। राजवंशीका अनुसार उपचारका लागि संक्रमित वृद्धलाई बिहीबार मात्रै भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान १:३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए।
त्यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबारसाँझ ७:४० बजेतिर मृत्यु भएको हो। उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको देवले बताए। विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको राति ८ बजेतिर विराटमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जानकारी देवले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)