Aamsanchar

हिमाली जिल्ला सोलुखुम्बुमा १०० थानभन्दा बढी अक्सिजन सिलिण्डर संकल

Author Image
शनिवार, जेठ १, २०७८

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले १०० थानभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सक्रियतामा अक्सिजन सिलिण्डर संकलन गरिएको हो। कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै सोलुखुम्बुमा अक्सिजनको अभाव हुन नदिने गरी तयारीमा जुटेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सोलुखुम्बुले जनाएको छ। जिल्लावासीले अक्सिजन नपाएर ज्यान गुमाउनु नपरोस् भनि तयारीमा जुटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।

उनका अनुसार ३० वटा खाली सिलिण्डरलाई ओखलढुङ्गाको मिसन अस्पतालमा रहेको अक्सिजन प्लाण्टलाई प्रदान गरिएको छ। उक्त अस्पतालमा दैनिक पाँचवटा सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । सोलुदुधकुण्ड नगरपालिकासँगको समन्वयमा जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको अन्य ६० वटा खाली सिलिण्डरमा अक्सिजन भर्न बिराटनगर पठाइएको प्रजिअ शाहीले बताए। उक्त सिलिण्डर जिल्ला अस्पताल फाप्लुमा नै राखिने छ। ‘जिल्लाका लागि उक्त सिलिण्डिर पर्याप्त हुन्छ,’ प्रजिअ शाहीले भने, ‘कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्नु परेको खण्डमा फाप्लुमानै २५ शय्याको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा छ।’

खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा १२ वटा अक्सिजन तयारी अवस्थामा रहेको गाउँपालिका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्। लिखुपिके गाउँपालिकामा सञ्चालित लिखु हाइड्रो पावरसँगको समन्वयमा २० वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको प्रजिअ शाहीको भनाइ छ । जिल्ला अस्पताल फाप्लुमा १०, महाकुलुङ गाउँपालिकामा २, नेचा सल्यान गाउँपालिकामा २ र सोताङ गाउँपालिकामा २ वटा अक्सिजन सिलिण्डर तयारीअवस्थामा रहेको संबन्धित गाउँपालिकाले जनाएका छन्।

आइसोलेसनमा ३२ जनाको उपचार

सोलुखुम्बुमा ३२ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ। संक्रमण पुष्टि भएका मध्ये ३२ जनाको विभिन्न स्थानमा रहेको आइसोलेसन सेन्टर र बाँकी १६४ जना होम आइसोलेसनमा रहेका छन्। जसमा जिल्ला अस्पताल फाप्लुको आइसोलेसनमा १२ जना रहेको अस्पतालका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिइन्।

यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा ३२ जना रहेको स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् । उनका अनुसार ३२ जना संक्रमित मध्ये २ जनालाई पासाङ ल्हामु निकोलनिकी अस्पातल लुक्लामा अक्सिजन दिएर उपचार थालिएको छ । २ जना संक्रमित विदेशीलाई यस अघि नै रेफर गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, जिल्ला अस्पताल फाप्लुको आइसोलेसनमा रहेका १२ जनामध्ये ४ जनालाई थप उपचारका लागि रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्। दुई जनालाई यसअघि नै रेफर गरिएको छ भने रेफर गरिएको एक जनाको बुधबार उपचारमा लैजादै गर्दा बाटोमानै मृत्यु भएको छ। एक जनालाई शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर