Aamsanchar

सञ्चालनमा आएन कोसी अस्पतालको ८० शय्याको कोभिड १९ उपचार केन्द्र

Author Image
शनिवार, जेठ १, २०७८

विराटनगर — अस्पतालमा शय्या अभावमा कोरोना संक्रमितहरू होम आइसोलेसनमा बस्न बाध्य भएका बेला कोसी अस्पतालको ८० शय्याको कोभिड १९ उपचार केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन । प्रदेश १ मा दैनिक संक्रमण दर बढेसँगै मृत्यु दरसमेत बढ्दै गएको अवस्थामा उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन ।

अक्सिजन आपूर्तिकर्ताले त्यसको ग्यारेन्टी नगरेकाले आईसीयू ७, एचडीयू १२ गरी ८० शय्याको अस्पतालमा सञ्चालनमा ल्याउन नसकेको उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए । ‘अस्पताल सञ्चालनका लागि थप ५ सय अक्सिजन सिलिन्डर आवश्यक हुन्छ,’ उनले भने, ‘उपचार केन्द्र परिसरमा रहेको नागरिक केयर सेन्टरमा अहिले सञ्चालनमा रहेको ९६ शय्याको कोभिड अस्पतालमा नै ५ सय अक्सिजन सिलिन्डर आपूर्तिमा समस्या भइरहेको छ ।’

कोसी अस्पतालमा अक्सिजन आपूर्तिका लागि मोरङको मारुती र सुनसरीको विनायक अक्सिजन इन्डस्ट्रिजसँग सम्झौता छ । तर ३र४ दिनदेखि उद्योगले समयमा अक्सिजन सिलिन्डर नल्याइदिँदा आफ्नो गाडी पठाएर ल्याउन बाध्य भएको उपचार केन्द्रका संयोजक साहले गुनासो पोखे ।

पहिलो चरणको कोरोना कालमा अहिले सञ्चालनमा आउन नसकेको ८० शय्याको उपचार केन्द्र मात्रै सञ्चालनमा थियो । तर नागरिक केयर सेन्टरमा प्रदेश सरकारले ९६ शय्याको कोभिड अस्पताल सञ्चालन गरेपछि ८० शय्याको उपचार केन्द्र मर्मत गर्ने बहानामा बन्द गरेको थियो ।

सामाजिक विकास मन्त्री उषाकला राईले उपचार केन्द्रमा रहेको ५० शय्यामा पनि अक्सिजनको पाइप लाइनिङ गरेर पूर्ण क्षमतामा सञ्चालनको तयारी भइरहेको बताइन् । उनले अक्सिजन सहज उत्पादन र व्यवस्थित आपूर्तिका लागि नीतिगत निर्णय गरेर काम अघि बढाइसकिएकाले तत्काल यस्ता समस्या समाधान हुने सुनाइन् । प्रदेश १ का सामाजिक विकास समितिले पनि उपचार केन्द्र तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर