Aamsanchar

अरब सागरमा विकसित चक्रवातले नेपालमा हावाहुरीसहित वर्षाको अनुमान,भारतमा आँधीको जोखिम

Author Image
आइतवार, जेठ २, २०७८

काठमाडौं –अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुन्छ,’ मौसमविद मञ्जु वासीले भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर बदली गराउँछ र वर्षा पनि हुन्छ ।’

‘ताउ ते’ सन् २०२१ को पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविदको अनुमान छ । यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमिनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्ने थप असरबारे भन्न सकिने मौसमविद वासी बताउँछिन् ।

मौसमविदका अनुसार जमिनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दुरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्छ,’ मौसमविद वासीले भनिन् ।

भारतमा अलर्ट

गोवा क्षेत्रको जमिनमा ठोक्किइसकेको यो चक्रवात गुजरात तर्फ अघि बढेको भारतका मौसमविदले बताएका छन् । आगामी १२ घण्टासम्म यो निकै शक्तिशाली तुफानमा बदलिने आशंका छ । यो चक्रवातको बढी असर गुजरातमा पर्ने पूर्वानुमान छ ।

प्रभावित क्षेत्रमा भारी वर्षा र तुफान आउने भएकाले सतर्क रहन भारतको मौसम विभागले यसअघि नै पूर्वसूचना जारी गरिसकेको छ । सोही सूचनाको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक र गुजरातका उच्च अधिकारीहरुसँग छलफल गरी पूर्वतयारीबारे जानकारी लिएका थिए । राज्य सरकारहरुले उद्धारकर्मीलाई तयारी अवस्थामा राखेको, वायु सेनाले उच्च सतर्कता अपनाएकोलगायतका समाचार आइरहेका छन् ।

चक्रवातको नाम ‘ताउ ते’ कसले राख्यो ? यसको अर्थ के हो ?

बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने चलन छ । अहिले अरब सागरमा विकसित चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ । यसपटक म्यानमारले यो चक्रवातको नाम राखेको हो । एक प्रकारको ह्रिसक माउसुलीलाई बर्मी भाषामा ‘ताउ ते’ भन्ने गरिन्छ ।

वरिष्ठ मौसमविद वरुण पौडेलका अनुसार चक्रवात प्रभावित क्षेत्रका देशहरुले पालैपालो नाम राख्छन् । नेपालमा समुद्र नभएकाले चक्रवातको नाम राख्ने अवसर नेपालले पाउँदैन । सन् २०२० मा बंगालको खाडीमा विकसित पहिलो चक्रवातको नाम ‘अम्पुन’ राखिएको थियो । सोही वर्ष अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको थियो । यी दुवै चक्रवातको असर नेपालमा पनि परेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर