Aamsanchar

झापा : कोरोना संक्रमित गर्भवती महिलालाई टहरामा छाडेर श्रीमान् सम्पर्कविहीन

Author Image
बुधवार, जेठ ५, २०७८

झापा – दोस्रो लहरको कोरोना भाइरसको नयाँ भेरियन्टले मुलुकवासी आक्रान्त बनेको छ ।  यस्तो अवस्थामा कोरोना संक्रमित भएका व्यक्तिको उपचारदेखि स्याहारसुसार जिम्मेवारी उनकै परिवारको मुख्य दायित्वमा पर्छ । तर, झापामा एउटा अनौठो घटना बाहिरिएको छ ।

कोरोना संक्रमित भएका श्रीमतीलाई बेवारिसे अवस्थामा छाडेर उनका श्रीमानमा अहिले सम्पर्कविहीन बनेका छन् ।मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका श्रीमानले आफ्नी गर्भवती श्रीमतीलाई बेवारिसे अवस्था छाडेर सम्पर्कविहीन बनेका हुन् ।

संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मङ्गलवार साँझ चाराआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएको मेचीनगर १३ नम्बरका वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पीसीआर परीक्षण गरेका थिए ।

सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।  त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन् । वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकोले आफ्नो जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए । नगरपालिकाको आइसोलेसनमा संक्रमित बिरामीका आफन्त बिना राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन ।

त्यसपछि घटनाको बारेमा नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेतीलगायत कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सक समेत जानकारी गराएको बताउँदै उनले भने,  ‘उनीहरूले पनि हुँदैन भनेपछि ती संक्रमित महिलालाई भद्रपुरस्थित मेची अस्पतालको कोभिड उपचार केन्द्रमा लगेर भर्ना गरेको छु ।’ ‘ती महिलाको साथमा उनकी बडी आमा पनि आएकी छिन, उनले भने ।’

‘नगरवासीको स्वास्थ्य उपचारमा सहज होस भनेर एमबिबिएस डाक्टर सहितको स्थापना गरिएको नगरपालिकाको आइसोलेसनमा नगरभित्रै बसोबास गर्ने नागरिकलाई पनि उपचारका लागि अन्यत्र नै लैजानुपर्दा आफूलाई दुःख लागेको छ,’ उनले भने ।’ 

दमक नगरपालिका ५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मङ्सिरमा प्रेम विवाह गरेको खुलेको छ । श्रीमान् कँडेल पेसाले गाडीका सहचालक हुन्।महिलाको माइती चाराआली नै हो । विवाह पश्चात् उनीहरू यहाँ डेरा गरी बस्दै आएका थिए । महिलाको उमेर १७ वर्ष रहेको वडा अध्यक्ष सिग्देलले बताए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर