Aamsanchar

चीनमा ७३ तले एक भवन हल्लिन थालेपछि….

Author Image
बुधवार, जेठ ५, २०७८

काठमाण्डौ – दक्षिणी चीनको शेनजेद शहरमा रहेको एक ७३ तले भवनमा कम्पन महसुस गरिएपछि त्यस भवनलाई हतारहतारमा खाली गर्नुपरेको छ । स्थानीय प्रशासनका अनुसार यो घटना मङ्गलवार बेलुकीको हो, जब नौ सय ८० फिट अग्लो एसईजी प्लाजामा रहेका मानिसहरुले यस भवन हल्लिएको महसुस गरे ।

त्यस समय चीनमा कुनै पनि भूकम्प आएको रेकर्ड गरिएको थिएन । यही कारण अहिले यस घटनाको जाँच भइरहेको छ । बीस वर्ष पुरानो यस ७३ तले भवनमा विभिन्न कार्यालय छन् र त्यसमा विद्युतीय सामग्रीको एक ठूलो बजार पनि लाग्ने गर्दछ । यो भवन शेनजेन सहरको बीच भागमा रहेको छ । झन्डै सवा करोड जसङ्ख्या रहेको सहरमा मानिसहरु यस भवनलाई एक ठूलो शपिङ सेन्टरको रुपमा जान्छन् ।

सामाजिक सञ्जालमा यो घटनाका कैयौँ भिडियो शेयर गरिँदैछ, जसमा मानिसहरु त्यस भवनबाट बाहिर निक्लिएर भागिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा धेरै व्यक्तिले यसलाई लिएर चिन्ता व्यक्त गरेका छन्, विना भूकम्प यो कसरी भयो भन्नेमा उनीहरु चकित छन् ।

चीनको सरकारी अखबार द ग्लोबल टाइम्सले लेखेको छ, शेनजेनको फूशियाँ जिल्लामा, जहाँ एसईजी प्लाजा रहेको छ, त्यहाँको स्थानीय प्राधिकरणको चिनियाँ समयअनुसार दिउँसो झन्डै साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त भएको थियो र दिउँसो दुई बजेसम्म भवन खाली गराइएको थियो । यो घटना हुँदा भवनमा निकै मानिस रहेका थिए ।

शेनजेनको स्थानीय प्राधिकरणले एक विज्ञप्ति निकाल्दै भनेको छ, भवनको आसपास जमिनमा केही क्षति भएको पाएका छैनौँ । यसका साथै भवनको बाहिरी पर्खालमा पनि कुनै क्षति पुगेको छैन तर भवन यसरी हल्लिनु चिन्ताजनक छ । हामी यो घटनाको विस्तृतमा जाँच गरिरहेका छौँ ।

एसईजी प्लाजा सन् २००० मा बनेर तयार भएको थियो । यो चीनको एक सय चार नम्बरको सबैभन्दा अग्लो भवन हो । साथै विश्वको दुई सय १२ औँ अग्लो भवन हो ।

चीनलाई हङकङसँग जोड्नका लागि पनि चिनिने शेनजेन चीनमा प्राविधिक र आविष्कारको क्षेत्रमा ठूला काम गर्दै आएको छ । टेनसेन्ट र हुवावे जस्ता चर्चित चिनियाँ कम्पनीको यस सहरमा कार्यालय छन् । विश्वको चौथो सबैभन्दा अग्लो भवन पनि यही सहरमा छ । चीनमा भवन भत्किएको खबर आइरहन्छ । गएको वर्ष मे महिनामा एक होटल भत्किँदा २९ जनाको ज्यान गएको थियो । यस होटललाई कोरोनाकालमा बिरामीका लागि आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको थियो । यद्यपि चीन निकै तीव्र गतिमा निर्माण कार्य गर्ने देश भनेर अन्तर्राष्ट्रियस्तरमा नै चिनिँदै आएको छ । गएको वर्ष चिनियाँ प्रशासनले वुहान सहरमा मात्र ६ दिनभित्र एक हजार बेडको अस्पताल बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर