काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कर्मकाण्ड गर्नुभन्दा सिधै सरकार गठनको आह्वान उचित भएकैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ सरकारको लागि आह्वानको अनुरोध गरिएको बताउनुभएको छ । बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त हुने आधार नरहेको कारणले गर्दा राष्ट्रपतिलाई नयाँ सरकार गठनको लागि सिफारिस गरिएको दाबी गर्नुभयो ।
आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको दाबी छ । उहाँले हिजोको आह्वान बाहिर आएपछि बहुतै कृत्रिम नाटकीय व्याख्या भएको जिकिर पनि गर्नुभयो ।
‘जेठ ५ गते संविधानले तोकेअनुसार बजेट प्रस्तुत गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेट पेस गर्नका लागि पनि छोटो समय दिएर सरकार गठनको आह्वान भएको हो । विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्ने र फेरि पराजित भएर धारा ७६ को उपधारा ५ मा जाने समय थिएन । १२ वा १४ गते नयाँ सरकार बन्यो भने कसरी बजेट आउन सक्छ त भन्ने हिसाबले छोटो समय दिएर नयाँ सरकार गठनको आह्वान भएको हो’, ओलीले भन्नुभयो ।
‘विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष आग्रह गरेका हौँ’, प्रधानमन्त्रीको भनाइ छ ।