सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’ ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई आत्मसात् गरिनेछ ।
विश्वभर जैविक विविधताको महत्वलाई दर्शाउन यो दिवस मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको ‘पृथ्वी शिखर सम्मेलन’ले जैविक विविधता महासन्धि अघि बढाउने निर्णय गर्यो ।
त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास प्रारम्भ भयो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०।१ ले थप अंगीकार ग¥यो । प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।
कानुनतः नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ को ब्याख्यामा आधारित छ । त्यसअनुरूप जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
हाम्रो हिन्दू धर्म–कर्म र जीनवैशलीमा जैविक विविधता जोडिएको मात्र छैन कि भगवानकै ग्रहण गर्ने, अनि पुज्ने चलन पनि छ । सनातन परम्परादेखि मानिस र वनस्पत्तिलाई कुनै न कुनै रुपले जोडेको छ । अझ कतिपय वनस्थितिलाई भगवानकै ‘प्रतिरुप’ ठानिन्छ पनि ।
हिन्दू संस्कार कुशबेगर चल्दैन, हरेक पूजा–आजमा सबभन्दा चोखो रुपमा कुश प्रयोग हुन्छ । अनि दुवो पनि हाम्रो धर्म–कर्मको अभिन्न तत्व हो । हिन्दू धर्माबलम्बीहरु बर–पिपल हुँदै बेल अनि रुद्राक्षलाई भगवानकै प्रतिरुप ठान्छन् । अनि हिन्दू मात्र होइन कि हरेक धर्मसँग प्राकृतिक विविधता जोडिएकै हुन्छन् । तिनलाई विविध ढंगले प्रचलन ल्याएका हुन्छन्, शैली मात्र फरक हुन् ।
अनि मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ–नयाँ साथी, ठाउँ, घर अनि खाना मनपर्छ । नयाँ कुराहरू गर्न रुचाउँछ ।
अनि नयाँपन विविधताले गर्दा मात्र सम्भव हुन्छ । यिनै विविधताका सवालहरूमध्ये आज जैविक विविधताका कुरा गरौँ न । भू–परिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाउँछन् । अनि हिमाल–पहाड नदेखेका मानिस हिमाल–पहाड देखेपछि रमाउँछन् । यो मानवको स्वभाव हो, अर्थात् विविधतामा रमाउने ।
त्यसैले त हरेक मानिसभित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरूभूमिमा बसोवास गर्ने मानिस हिमाल हेर्न नेपाल आउँछन् । विश्वभरिका मानिस सगरमाथा, यहाँका जैविक विविधता, प्रकृति, वनस्पति, जनावर, चराहरू आदि हेर्न नेपाल आउँछन् । यदि नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरू आउने थिए, होलान् र रु तसर्थ, पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।
यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भिन्न–भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर–दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ ।
घण्टा भरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ । अनि जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली छन् ।
अनि ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फूल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र ३ सय ८३ प्रजातिका उन्यूहरू भएको तथ्य नेपालसँग छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भू–भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेती गरिन्छ ।
यी विविधताहरू सदा सर्वदा कायम भइरहून् । तिनको संस्थागत संरक्षण र पर्यटन अभिवृद्धि निम्ति सरोकारवाला र समुदायको उल्लेखनीय भूमिका होस् । जैविक विविधता छ र हामी छौं । नेपाली हावा, पानी, माटो, आकाश र बतासको जय होस् ।