ताप्लेजुङ – ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशोर सोनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथाको शिखरमा पुग्नुभएको छ । शेर्पा आफ्नै बाबु पीके शेर्पाका साथ आइतवार बिहान सगरमाथाको शिखरमा पुग्नुभएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शेर्पा बाबुछोरा लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न हुनुहुन्छ । ‘पृथ्वी जोगाउन जङ्गल र हिउँ जोगाउन आवश्यक छ’, यही कुरा विश्वलाई सुनाउन र सरोकारवालालाई झकझकाउन आफूहरू सगरमाथा आरोहणमा निस्किएको पिके शेर्पाले आरोहणमा जानुअघि बताउनुभएको छ ।
पिके शेर्पा सगरमाथाको अनुभवी आरोही हुनुहुन्छ । उहाँले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहनुभएको छ । बाबुकै पाइला पछ्याउँदै सोनाम पनि सगरमाथा आरोहणमा जानुभएको हो । बाबुछोराले विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् ।