काठमाडौं । कोरोना भाइरस लगायतका सरुवा रोग देखि संक्रमण हुनबाट बच्नको लागि प्रयोग गरिने एक कम्पनीको स्यानिटाइजर हानिकार रहेको पुष्टि भएको छ ।
आवश्यकता भन्दा धेरै प्रयोग भए स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको स्यानिटाइजर उत्पादन गर्ने कम्पनीमा अपराध महाशाखा ले छापा मारेको हो ।
उपत्याकाको इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार छापा मार्दा उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको पाईएको अपराध महाशाखाले जानकारी दिएको छ ।
सो सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए। उनका अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेल पक्राउ परेका छन्।
कम्पनीमा तीस चालीस हजार लिटर सेनिटाइजर फेला परेको महानगरिय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
परिसर प्रमुख एसएसपी खापुङ, प्रहरी उपरीक्षक कोइराला, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, मुद्दा शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीलगायत महाशाखाको टोली नै उक्त कम्पनीमा गएको थियो ।