Aamsanchar

युएईमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग

Author Image
मङ्गलवार, जेठ ११, २०७८

एनआरएनए युएईले युएईमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग कार्यलाई निरन्तरता दिएको छ । गत जेठ ७ मा अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरे लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको छ ।

अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएका कारण बिचल्लीमा परेका ५ नेपाली कामदार, अबुदाबीको मुसाफामा रहेका एक समस्याग्रस्त सेक्युरिटी कम्पनीका ६ जना गार्डहरु र दुबईको सोही सेक्युरिटीकम्पनीका २ जना र एक जना भिजिट भिसामा अबुधाबीको लाइफलाइन एरियामा रहेका नेपालीलाई सहयोग वितरण गरिएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मिडिया टास्क फोर्स सदस्य रामप्रसाद ढुंगेलले बताएका छन् ।

आइसिसी मिडिया टास्क फोर्स सदस्य ढुंगेलको समेत उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा लाभान्वितहरुले एनआरएनए युएईसमक्ष नेपाल फर्कन समेत सहयोग गर्न आग्रह गरेका थिए ।

पीडित नेपाली कामदारहरुले एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएको र काम गरेको ५–६ महिनाको तलब समेत नपाएको समस्याहरु एनआरएनए युएईसमक्ष राखेका थिए । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा। बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत जेठ १० र ११ गते राहत स्वरूप खाद्यान्न वितरण गरिएको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले जानकारी दिएका छन् ।

गत जेठ ७ गते अबुधाबीको मफरकमा समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले ८० जनालाई कम्तीमा १ महिनालाई खान पुग्ने चामल, दाल, तेललगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका थिए ।

दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन् । राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दुस्खमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन् ।

छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले बताएका छन् ।
युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ ।

विस्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ । मजदुरमैत्री काममा अग्रसर एनआरएनए युएई नेपाली कामदारहरुको सुखदुःखको साथी बन्दै गएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर