काठमाडौँ — कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा बैठक भइरहेको छ ।
सीसीपीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरिरहेका छन् । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपाल मजदुर किसान पार्टीलगायतका नेताहरू सहभागी छन् । नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महराले सहभागिता जनाएका छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादवले सहभागिता जनाएका छन् ।
सीसीपीले नेपालका राजनीतिक दलहरूसँग यसरी बैठक गर्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विदेश विभागले भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो । नेकपा फुटेपछि सीसीपीले यसपटक एमाले र माओवादी केन्द्रसहित अन्य राजनीतिक दललाई पनि छलफलमा सहभागी गराएको हो ।
सीसीपीको विदेश विभागले यसअघि काठमाडौंमै आएर चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘सी विचारधारा’ बारेमा समेत नेकपाका नेताहरूलाई कक्षा दिएको थियो ।