झापा – भद्रपुरका स्थानीय विद्यार्थीले मेची अञ्चल अस्पताललाई चार सय थान रिएजेन्ट किट निःशुल्क सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ले अस्पतालमा बन्द भएको पीसीआर परीक्षण तत्काल सुचारु गराउन सो परिणामको रिएजेन्ट किट उपलब्ध गराएको हो । अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा विगत शनिवारदेखि अस्पतालमा पीसीआर परीक्षण बन्द भएको थियो ।
सरकारी दररेट अनुसार प्रति किट सात सय रुपैयाँ पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट चार सय ५० मा खरिद गरी अस्पताल प्रशासनलाई बिहीबार बिहान हस्तान्तरण गरेको हो ।
पूर्व विद्यार्थीहरू शेखर बुढाथोकी (विशाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरलाई सो किट हस्तान्तरण गरेका थिए । यस्तो कोरोनाको महामारीको बेला सरकारी अस्पतालमा कोरोनाको पीसीआर परीक्षण बन्द नहुनु पर्ने ठानेर मानव सेवाका लागि पहिलो चरणमा चार सय थान किट उपलब्ध गराएको विद्यार्थी शेखर बुढाथोकीले बताए ।
त्यस्तै अस्पतालमा पीसीआर सेवा बन्द भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्रालयले पनि अस्पताललाई सात सय थान रिएजेन्ट किट उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । विद्यार्थीको चार सय र प्रदेश सरकारको सात सय गरी जम्मा ११ सय किट अस्पतालसँग उपलब्ध भएकोले शुक्रवारदेखि पुनः पीसीआर परीक्षण सुचारु गरिने उनले बताए ।